पहिलो सेमिफाइनल आज, स्पेन र स्वीडेन भिडदै
वि.सं.२०८० साउन ३० मंगलवार ०६:४७
1.9K
shares
एजेन्सी: जारी महिला फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज हुँदैछ । अष्ट्रेलियाको इडेन पार्कमा स्वीडेन र स्पेनबीच नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे खेल हुनेछ ।
क्वाटरफाइनलमा पूर्व विजेता जापानलाई २–१ गोल अन्तरले हराउँदै स्वीडेन अन्तिम ४ मा पुगेको हो । एसियाली पावर हाउस जापानलाई रोकेर सेमिफाइनल पुगेको स्विडेन उपाधि जित्ने होडमा छ ।
स्वीडेन यो विश्वकप यात्रामा अपराजित छ । समूह चरणमा इटालीमाथि ५–० को जित निकालेको स्वीडेनले अर्जेन्टिनालाई २–० हराएको थियो । त्यस्तै दक्षिण कोरियामाथि २–१ को जित दर्ता गरेको थियो ।

स्वीडन दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्वर्ण पदकको नजिक भने पुगेको थियो । तर फाइनलमा क्यानडासँग पराजित हुन पुग्यो । स्विडेन सन् २००३ को महिला विश्वकपको उपविजेता पनि हो । तीन पटक यो टिम महिला विश्वकपको तेस्रो स्थानमा चित्त बुझाएको छ ।
स्वीडेनको प्रतिद्वन्द्वी स्पेनले अन्तिम चारमा स्थान बनाउन अतिरिक्त समयमा साबिक उपविजेता नेदरल्यान्ड्सलाई २–१ गोल अन्तरले हराएको थियो । स्पेनका लागि क्वाटरफाइनल पुग्नु नै ठूलो थियो । छैठौं वरीयताको टिम भएपनि स्पेन यसअघि कहिल्यै पनि क्वाटरफाइनल पुगेको थिएन ।

लिग चरणका दुई खेलपछि स्पेनले आफ्नो लय बिगारेको थियो । जापानविरुद्धको खेल ४–० ले गुमायो । त्यसपछि स्पेनी प्रशिक्षक जोर्गे भाल्डाले टिममा व्यापक परिवर्तन गरे । त्यसैले यो टीमले स्विट्जरल्यान्डलाई ५–१ ले हरायो । समूह चरणमा कोस्टारिकालाई ३–० ले पराजित गरेको थियो भने जाम्बियालाई ५–१ ले पराजित गरेको थियो ।
वि.सं.२०८० साउन ३० मंगलवार ०६:४७




















