२०औं संस्करणको आहा रारा गोल्डकप फुटबल माघ पहिलो सातादेखि हुने
वि.सं.२०७८ पुस २७ मंगलवार १५:५५
1.8K
shares
काठमाडौं: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण माघ पहिलो सातादेखि हुने भएको छ ।
आयोजक सहारा क्लबले पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ६ देखि १५ गतेसम्म हुने जानकारी दिएको हो ।
प्रतियोगितामा यो संस्करण ए डिभिजन लिगका ८ सहित आयोजक र एक विदेशी क्लब सहभागी हुनेछन् ।
आयोजक सहारा क्लबसहित मछिन्द्र क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लव, थ्रीस्टार क्लब, त्रिधुवन आर्मी फुटबल क्लब, नेपाल एपीएफ फुटबल क्लब, मनाङ मस्र्याङदी क्लब र बीवाईएससी मिनेसोता, युएसए को टोली सहभागी हुने सहारा क्लबले जनाएको छ ।
प्रतियोगिता आयोजना गर्न १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने अपेक्षा गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
प्रतियोगिताको बचत रकम सहारा फुटबल एकेडेमी सञ्चालन गर्न खर्च गरिदै आएको छ । एकेडेमीमा हाल तेस्रो व्याचको रुपमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।
१९औं आहा रारा गोल्डकप २०७७ को आयव्यय विवरण सार्वजनिक गर्न नसके पनि अहिलेसम्म कुल ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ ५७ पैसा आम्दानी र ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ २३ पैसा कुल खर्च र जम्मा वचत रकम १३ लाख ४९ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा रहेको महासचिव अधिकारीले बताए ।
वि.सं.२०७८ पुस २७ मंगलवार १५:५५




















