विश्व फुटबल महासंघले फुटबल क्षेत्रमा देखिएको संकट जोगाउन आर्थिक कोषको प्रयोग गर्ने
वि.सं.२०७६ चैत १९ बुधवार १०:२४
1.5K
shares
एजेन्सीः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फुटबल क्षेत्रमा देखिएको आर्थिक संकट जोगाउन विश्व फुटबल महासंघ (फिफा)ले ठोस कदम चाल्ने भएको छ ।
विश्व फुटबलका विभिन्न निकायहरुलाई पर्न गएको आर्थिक संकटलाई राहत दिलाउनका लागि फिफाले आफ्नो आर्थिक कोषको प्रयोग गर्ने र संसारको सबैभन्दा ठूलो खेल फुटबलको प्रतिष्ठा जोगाउनको लागि फिफाले यस्तो कदम चाल्न लागेको जनाएको हो । फिफाले फुटबलको लोकप्रियता जोगाउनु आफ्नो कर्तब्य रहेको भन्दै फुटबलका अन्य सरोकारवाला निकायहरुलाई जोगाउन राहतको ब्यवस्था गर्ने जनाएको छ ।
कोरोनाको बढ्दो प्रभावका कारण धनी क्लबहरु समेत आर्थिक संकटमा जाने प्रक्षेपण गरिएको छ । बार्सिलोना र युभेन्टस् लगायतका ठूला क्लबले समेत आर्थिक संकट झेल्न थालेको संकेत देखिएको छ । उनीहरुले खेलाडी लगायत कर्मचारीको पारिश्रमिकमा भारी कटौती गर्ने घोषणा गरिसकेको छ ।
फिफाले आफ्नो आर्थिक कोषमा रहेको करिब ३ बिलियन प्रयोगमा ल्याई संकटमा परेकाहरुलाई सहयोग गर्ने योजना बनाउँदैछ । कोरोना प्रभावले निम्त्याएको संकट र त्यसको समाधानको निम्ति दुई साता अघि फिफा अध्यक्ष र उपाध्यक्षहरुले सहयोग कोष स्थापना गर्नका निम्ति छलफल गरेका थिए ।
वि.सं.२०७६ चैत १९ बुधवार १०:२४



















