१० हजार विद्यार्थी दीक्षित हुँदै

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:५१

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा आगामी शुक्रबार मङ्सिर २३ गते हुने भएको छ ।
दीक्षान्त मूल समारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार ३९२ विद्यार्थी दीक्षित हुँदै छन् ।
विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्त भित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार ३९२ जनाले मात्र आवेदन दिएका छन् ।
अर्यालका अनुसार स्नातक तहतर्फ ६ हजार ६९१, स्नातकोत्तरतर्फ ३ हजार ५४९, एमफिल ५५ र विद्यावारिधि तर्फ ९७ जना दीक्षित हुँदै छन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुने छन् ।
स्नातकतर्फ रु. ३ हजार ७००, स्नातकोत्तर तह र एमफिलमा दुवैमा रु. ४ हजार २०० तथा विद्यावारिधि रु. ४ हजार ७०० शुल्क लाग्ने छ ।
समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ ।
समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभरसिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको जानकारी दिए ।
एमफिल, विद्यावारिधि र सर्वोकृष्ट अङ्क ल्याउनेलाई पदक वितरण गरिने छ । त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीलाई यही मङ्सिर १५ देखि २२ गतेसम्म गाउन स्कार्फ वितरण गरिरहेको छ ।
समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन स्कार्फ टोपी लगाउनुपर्ने हुन्छ ।
त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको छ ।

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:५१