नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्यो
वि.सं.२०८२ माघ ९ शुक्रवार १६:३२
498
shares
काठमाडौं: नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय गरेको हो ।
पार्टीले पाँचवटा स्पष्ट मापदण्ड तय गरेर थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो । कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवार सक्षम र अब्बल हुने उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् । उनका अनुसार ती मापदण्डमा व्यक्तिको पृष्ठभूमि, संस्कार, देशलाई कसरी नेतृत्व गर्ने क्षमता, संघर्ष वा सत्तामा परीक्षण भइसकेको अवस्था तथा देशको भूगोल चिन्न सक्ने क्षमता सहितका छन् ।
प्रधानमन्त्रीका रूपमा थापालाई अघि सार्ने निर्णयबारे बोल्दै शर्माले भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’पछि पार्टीभित्र आएको परिवर्तनलाई पनि ध्यानमा राखिएको बताए । उनका अनुसार कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र नयाँ नीति अघि सारेको छ । शर्माले भने, ‘प्रधानमन्त्री बन्ने कुरा पार्टी नेतृत्वमा सीमित हुँदैन । देशको नेतृत्व गर्ने व्यक्ति आवेगमा होइन, संवेग र परिपक्वताका साथ काम गर्ने हुनुपर्छ ।’ उनले कुनै पनि नेतृत्वको वास्तविक परीक्षण संघर्षको मैदान वा सत्तामा हुने बताए ।
देशको भूगोल बुझ्ने क्षमता पनि थापाको अर्को बलियो पक्ष भएको शर्माको भनाइ छ । कर्णाली र मधेशजस्ता विविध भौगोलिक क्षेत्रलाई समेटेर देश हाँक्न सक्ने क्षमताका कारण उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको उनले स्पष्ट पारे ।
वि.सं.२०८२ माघ ९ शुक्रवार १६:३२




















