‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ हुने
वि.सं.२०८२ माघ १२ सोमवार १२:२४
879
shares
काठमाडौं: ‘बलियो एकता, सुरक्षित राष्ट्र’ स्लोगनसहित २ सय ६३ औं सेना दिवसका अवसरमा ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ माघ २४ गते शनिबार हुने भएको छ । श्री नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिताको यो ११ औं संस्करण हो ।
२०७२ सालदेखि प्रत्येक वर्ष सेना दिवसको अवसर पारेर आयोजना गरिने ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२’ संस्करणका लागि निःशुल्क रजिष्ट्रेशन (फाराम दर्ता) माघ ११ गतेबाट शुरु भएको छ भने माघ १८ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म श्री नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, जंगी अड्डा, भद्रकालीमा गर्न सकिने छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सामाजिक एकताको प्रतिकको रुपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक-सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले यस किसिमका विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ भने म्याराथन र हाफ म्याराथनमा धावकहरुलाई प्राथमिकताको आधारमा सहभागी गराइने साथै सहभागीहरुको मेडिकल चेकअप माघ २३ गते हुनेछ ।
म्याराथन (४२.१९५ कि.मि.) तर्फ पुरुष खुल्लामात्र, हाफ म्याराथन (२१ कि.मि.) तर्फ महिला-पुरुष खुल्ला, १० कि.मि. तर्फ सैनिक अधिकृतहरु (महिला-पुरुष), सैनिक सहचारी तथा सहचारी कार्यालयमा कार्यरत पदाधिकारीहरु (महिला-पुरुष), सैनिक महाविद्यालय र अवकाशप्राप्त तथा सेवारत् सकल दर्जाहरुका कक्षा १०-१२ मा अध्ययनरत् इच्छुक छोराछोरीहरु, कक्षा १०-१२ मा अध्ययनरत् गैरसैनिक व्यक्तिका इच्छुक छोराछोरीहरु, ५ कि.मि. वाकाथनतर्फ प्रमुख अतिथि, आमन्त्रित उच्चपदस्थ व्यक्तिहरु र ५ कि.मि. दौडतर्फ सैनिक महाविद्यालयमा अध्ययनरत् कक्षा ७ देखि ९ सम्मका इच्छुक छात्रछात्राहरु सहभागी हुनेछन् ।
श्री नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी मदनजंग राणा भन्छन्- ‘खेलाडी तथा अफिसियल संख्यामा म्याराथनतर्फ २ सय ५०, हाफ म्याराथनतर्फ ६ सय, १० कि.मि. तर्फ ८ सय, ५ कि.मि. वाकाथनतर्फ ४ सय ५०, ५ कि.मि. तर्फ १ सय र अफिसियलतर्फ ३ सय जना गरेर अनुमानित २ हजार ५ सय जना सहभागी हुनेछन् । काठमाडौं महानगरपालिकाबाट २१ कि.मि. प्रथम हुने पुरुष-महिलालाई मोटरसाइकल र स्कुटर, रिसिक अटोमोबाइल प्रा.लि. बाट ४२.१९५ कि.मि. प्रथम हुने पुरुषलाई मोटरसाइकल पुरस्कार प्रदान हुनेछ ।’
यसैगरी ४२.१९५ कि.मि. म्याराथनतर्फ प्रथम ३ लाख, द्वितीय २ लाख, तृतीय १ लाख, चौथो ५० हजार, पाँचौ ३० हजार, छैठौं २५ हजार, सातौ २० हजार, आठौं १५ हजार, नवौं १० हजार, दशौं ५ हजार, २१ कि.मि. हाफ म्याराथनतर्फ महिला-पुरुष प्रथम १ लाख, द्वितीय ७५ हजार, तृतीय ५० हजार, १० कि.मि. दौडतर्फ अधिकृत, सैनिक सहचारीको कार्यालय, खुल्ला पुरुष-महिला प्रथम १० हजार, द्वितीय ७ हजार, तृतीय ५ हजार, ५ कि.मि. दौडतर्फ ७-९ कक्षासम्म अध्ययनरत् विद्यार्थीहरु छात्र-छात्रा प्रथम १० हजार, द्वितीय ७ हजार र तृतीयले ५ हजार जनही पुरस्कार पाउने छन् ।
माघ २४ गते ४२.१९५ कि.मि. दौड बिहान ६:२५, २१ कि.मि. दौड पुरुष-महिला (खुल्लातर्फ) ६:३५, १० कि.मि. दौड छात्रछात्राहरु ६:४०, १० कि.मि. दौड पुरुष-महिला (सैनिक सहचारी, नेपाली सेनाका अधिकृतहरु) ६:४५, ५ कि.मि. दौड विद्यार्थीहरु ६:५०, ५ कि.मि. वाकाथन ६:५५ बजे जंगी अड्डाबाट शुरु हुनेछ भने तोकिएका रुट पार गरेर जंगी अड्डामै पुगी समापन हुने जानकारी सेनानी गगनबहादुर महताराले दिएका छन् । हरेक दौडमा डाक्टरसहितको एम्बुलेन्स, बस र १०-१० वटा स्कटिङ मोटरसाइकलको व्यवस्थासहित प्रत्येक २.५ कि.मि. मा चेकप्वाइण्ट, वाटर प्वाइण्ट, स्पोन्जिङ प्वाइण्टको व्यवस्था गरिएको बताइएको छ ।
वि.सं.२०८२ माघ १२ सोमवार १२:२४




















