उत्कृष्ट मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई
वि.सं.२०८२ माघ ९ शुक्रवार १४:२८
1.4K
shares
काठमाडौं: सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा माघ ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित प्रभातकालीन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई नगदसहित प्रसंसापत्र प्रदान गरेका हुन् । यो सँगै उनी चौथोपटक संगठनबाट पुरस्कृत भएका छन् ।
संगठनको गतिविधि छिटो-छरितो र सहज ढंगले संचारमाध्यममा उपलब्ध गराई प्रचार-प्रसारमा उत्कृष्ट र प्रभावकारी कार्य गरेवापत् सशस्त्र प्रहरी नायब उपरीक्षक थापालाई पुरस्कृत गरिएको हो । हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह-प्रवक्ताको जिम्मेवारीमा रहेका छन् । यसअघि उनलाई २०७७ सालमा २० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेवापत् पुरस्कृत गरिएको थियो भने २१ औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरेवापत् र २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ मा सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा प्रदान गरिएको थियो ।
२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) सहित उनी चौथोपटक पुरस्कृत भएका हुन् । आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापा करिब सात वर्ष मूलधारको पत्रकारिता गरेर २०६४ सालमा सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएका थिए । थापा संचार माध्यामसँगको समन्वयमा बढी नै दख्खल राख्छन् ।

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:२८




















