निजामती सेवा विधेयकको दफा ५ पास

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४
357
shares
काठमाडौं: निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ । हाल निजामती सेवामा १० वटा समूह छन् । नेपाल सूचना प्रविधि सेवा समूह थप गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा ५ पास गरेको हो ।
सांसदहरूले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले दुवै विशिष्टकृत सेवा रहेकोले छुट्टै ऐन अन्तर्गत राखिएको तर्क गरेका थिए ।
समितिका सभापति रामहरि खतिवडाले स्वास्थ्य सेवा र संसद सेवाबारे पुनः छलफल गर्नेगरी दफा ५ पास सर्वसम्मत रुपमा पास भएको घोषणा गरे । पास भएको दफा अनुसार निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा रहनेछ ।
नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा पनि निजामती सेवा अन्तर्गत नै रहनेछ । दफा १, ३ र ४ यसअघि नै समितिले पास गरिसकेको छ । प्रस्तावित विधेयकमा १४७ वटा दफा छन् । बुधबार समितिले एउटा दफा मात्रै पास गर्न सकेको हो ।

वि.सं.२०८१ माघ ३० बुधवार १४:५४