जनप्रिय कार्यक्रममार्फत् ‘शान्त र सुरक्षित उपत्यका’ प्रहरी अभियान

वि.सं.२०८१ माघ २५ शुक्रवार १३:०१
1.1K
shares
काठमाडौं: काठमाडौं उपत्यका प्रहरी कार्यालयले देशका कर्णधार युवाहरुलाई जिम्मेवार, मर्यादित, कुलतमुक्त नागरिक बनाउने उद्देश्यका साथ ‘युवासँग प्रहरी’ अभियान शुरु गर्ने भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेपछि थुप्रै लोकप्रिय कार्यक्रममार्फत् जन-जनको मनमा नेपाल प्रहरीलाई स्थापित गरेर शान्त र सुरक्षित काठमाडौं उपत्यका बनाउने अभियान नै थालेका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले कमाण्ड सम्हालेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै अपराध नियन्त्रणमा नागरिक सहभागिता बढाउने, मानवअधिकारको संरक्षणमा विशेष ध्यान दिने, अपराधविरुद्धको सचेतनामा मिडियासँग निरन्तर अन्तर्क्रिया गर्ने, विपद् उद्दारमा स्थानीय तहसँग अझ बढी समन्वय गर्ने, लागूऔषध नियन्त्रणमा विशेष अभियान थाल्ने, ट्राफिक व्यवस्थापनमा थप रणनीतिका साथ सुधार गर्ने उद्देश्यले काठमाडौं उपत्यका प्रहरी कार्यालय अघि बढेको जानकारी गराइयो ।
‘डिजिटल पुलिसिङ’ को अवधारणाअनुसार अगाडि बढ्दै होटललगायतका पर्यटकीय व्यवसायको सुरक्षामा पर्यटक प्रहरीका अलावा प्रहरीले थप सुरक्षा दिँदै पर्यटकलाई शान्त र सुरक्षित काठमाडौं उपत्यकाको आभाष दिलाएर पर्यटक आगमनमा बृद्धि गराउने लक्ष्य राखिएको बताउँदै प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले भने- ‘जिम्मेवारीको क्षेत्रमा हरेक प्रहरी कर्मचारीलाई भौगोलिक अवस्थाबारे जानकारी अवश्य हुनैपर्छ ।’
विद्यालयस्तरबाट नै अपराधबाट बच्ने ज्ञान विद्यार्थीहरुलाई दिलाउने रणनीतिलाई थप प्रभावकारिताका साथ अघि बढाउने काठमाडौं उपत्यका प्रहरी कार्यालयको योजना छ । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङको भनाई छ- ‘सामाजिक सञ्जाल (ऐनले व्यवस्था गरेबमोजिम) प्रहरीले अनुगमनका साथै कार्ययोजनामा राखेर कार्यान्वयन गर्छ । फरार प्रतिवादीलाई पक्राउ गर्न उच्च प्राथमिकताका साथ प्रहरी अघि बढ्छ । सवारी साधनको प्रदूषणविरुद्ध तीब्ररुपमा कारबाही प्रक्रिया अघि बढाइएको छ भने सबैखाले गुण्डाहरुको प्रोफाइलिङ्ग गरेर कारबाही गर्ने रणनीति अपनाइएको छ ।’
बिचौलिया नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको, जनशक्ति, साधन-स्रोतको अभावमा चाहेजसरी काम गर्न अझै पनि नसकिएको स्वीकार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले थप साधन-स्रोत र जनशक्ति हुने हो भने सबैखालका चुनौतीलाई पराजित गर्न नेपाल प्रहरी समक्ष रहेको दावी गरे । ‘प्रहरीकहाँ आउने उजुरी तथा जाहेरी जस्तो भए पनि लिनुपर्छ, भलै त्यो पछि तामेलीमा जाला’ उनले थपे- ‘प्रहरीले सेवाग्राहीसँग बोल्ने भाषामा सुधार गर्न गम्भीरतापूवर्क लागिने छ ।’
पत्रकार अन्तर्क्रिया कार्यक्रममा प्रस्तुतिकरण दिँदै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले गत आवहरुको तुलनामा चालु आवको माघ महिनासम्म फरार प्रतिवादी पक्राउ र समुदाय-प्रहरी कार्यक्रममा थप सफलता मिलेको जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक खनालको प्रस्तुतिमा कानूनको प्रभावकारी कार्यान्वयन गर्दै दण्डहीनताको अन्त्य गर्ने, उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न प्रहरी इकाइहरुको स्तरबृद्धि तथा आवश्यकता अनुसार नयाँ इकाइहरु स्थापना गर्दै लैजाने, ग्रामीण इलाकाहरुमा बृद्धि भइरहेको जनघनत्व, आर्थिक एवं सामाजिक क्रियाकलापहरुका कारण ‘एक बस्ती, एक गस्ती’ अभियान सञ्चालन गर्ने उद्देश्य रहेको उल्लेख छ ।
त्यस्तै व्यवसायिक सीप तथा क्षमता अभिबृद्धि गर्न भीड नियन्त्रण, विपद् व्यवस्थापनसम्बन्धी अनुशिक्षणमा सहभागिता शत-प्रतिशत पुर्याउने, महिला, बालबालिका तथा जेष्ठ नागरिकविरुद्ध हुने आपराधिक घटनाहरुको न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रमहरुको क्लालेण्डर निर्माण गरी सञ्चालन गरिने, पर्यटक प्रहरी कार्यालयलाई मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मको सम्पूर्ण अनुसन्धान गर्नसक्ने कार्यालयको रुपमा विकसित गर्दै लैजान पर्यटन विभागसँग समन्वय गर्ने प्रहरी वरिष्ठ उपरीक्षक खनालले जानकारी दिए ।

वि.सं.२०८१ माघ २५ शुक्रवार १३:०१