बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै
वि.सं.२०८१ असोज २ बुधवार १६:३२
444
sharesकाठमाडौं: संविधान दिवसको अवसरमा बिहीबारदेखि धरहरा सर्वसाधारणको लागि खुला गरिने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाख ११ गते उद्घाटन गरेको धरहरा तीन वर्षपछि बिहीबार संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको हो ।
एक दशकमा पनि निर्माण सम्पन्न हुन नसकेको धरहराको अहिले पनि काम जारी छ । २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट ढलेको धरहराको मुख्य भग्नावशेषलाई सुरक्षित राखिने भनिएको थियो । तर धरहराका अवशेषहरू अहिले पनि बेवारिसे जस्तै छन् । पुन:र्निर्माण प्राधिकरणले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरिरहेको छ ।
धरहरा पहिलो पटक राजा रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरा सुन्दरीले विक्रम सम्वत् १८८२ मा बनाउन लगाएकी थिइन् । त्यसपछि प्रधानमन्त्री भीमसेन थापाले पनि बागदरबारमा अर्को धरहरा बनाए, त्यसलाई सुन्धारा भनिने गरिन्थ्यो । विक्रम सम्वत् १९९० को भूकम्पले उक्त धरहरा भत्किएको थियो । त्यो शक्तिशाली भूकम्पले ९ तले धरहरा भत्काएर दुई तल्ला मात्रै जोगिएको थियो । भत्केको धरहरालाई जुद्धशमशेर राणाले १९९२ मा जीर्णोद्वार गराउन लगाएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पले उक्त ऐतिहासिक धरहरा पूरै ढलेको थियो । जहाँ दर्जनौँ मानिसले ज्यान पनि गुमाएका थिए ।
वि.सं.२०८१ असोज २ बुधवार १६:३२