उपसभामुख रानाले लेखेको पत्रलाई लिएर संसदमा आरोप-प्रत्यारोप

वि.सं.२०८१ साउन ६ आइतवार १४:१८
681
shares
काठमाडौं: उपसभामुख इन्दिरा रानामगरले पदीय दूरुपयोग गरेको विषय प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिको नाम राखेर पत्राचार गरेको विषयलाई लिएर पक्ष/विपक्षमा आवाज उठेको हो ।
अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था सीएसडब्लूको वार्षिक सत्रमा भाग लिन उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन् । तर, दूतावास भिसा भने नदिएको पाइएको छ । पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै उनीहरूले गत वैशाखमा रास्वपाका नेताहरुलाई गुनासो गरेपनि विषयलाई गुपचुप राखेको थियो ।
आजको बैठकको सुरुवातमै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले मानव तस्करी गर्न उपसभामुख रानाले सघाएको भन्दै राजीनामा माग गरेका थिए । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको भन्दै तत्काल राजीनामा दिन आग्रह गरेका हुन् । खतिवडाले संसद भिसा सहजीकरणको कन्स्ल्टेन्सी नहुने भन्दै यो विषयमा तत्काल छानबिन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संसद भीसा सहजीकरणको कन्स्ल्टेन्सी र उपसभामुखको कार्यालय हुन सक्दैन । के कसो भएको हो तत्काल छानबिन होस् ।’
यता नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा भने उपसभामुख रानाको बचाउ गर्दै खतिवडाको भनाईलाई प्रतिवाद गरेका छन् । सापकोटाले उपसभामुखको नैतिक प्रश्न भएपनि एक वर्ष अगाडिको विषय अहिले उठाएर चरित्र हत्या भएको दाबी गरे । उनले संवैधानिक परिषद् बैठकमा बहुमत नपुगेपछि सत्ता पक्षले उपसभामुखप्रति आरोप लगाएको दाबी गरे । रास्वपाकी सांसद सुमना श्रेष्ठले उपसभामुख रानामाथि मिडिया ट्रायल भएको आरोप लगाइन् । उनले इमान्दार रानालाई मानव तस्कर भनेर लान्छना नलगाउन आग्रह गरिन् ।
एमाले सांसद दामोदर पौडेल वैरागीले नियतबस नै उपसभामुखले भिसाका लागि पत्र लेखेको भन्दै सदनले उपसभामुखको जवाफ खोजेको बताए । उनले सो प्रकरणमा लेनदेन नै रहेको दाबी गरे । उनले लेनदेनको विषय जोगाउनका लागि रास्वपाको विज्ञप्ति पनि आपत्तिजनक रहेको भन्दै उपसभामुखका विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरे ।

वि.सं.२०८१ साउन ६ आइतवार १४:१८