उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

वि.सं.२०७९ माघ ७ शनिवार १७:४८

काठमाडौं: प्रतिनिधिसभाको उपसभाभुखमा इन्दिरा राना मगर विजयी भएकी छिन् । निर्वाचनमा रानाको पक्षमा १६६ सांसदको मतसहित उनी उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार रहेकी रानाले १६६ मत प्राप्त गरेकी हुन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए ।
कांग्रेसको तर्फबाट उम्मेदवार मुक्ताकुमारी यादवले भने ९७ मत प्राप्त गरिन् । बैठकमा २६४ सदस्य उपस्थित थिए ।
गत माघ ५ गते सत्तारुढ दलहरुकै समर्थनमा एमाले सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका थिए । सत्तारुढ दलहरुबीच राष्ट्रपति एमालेलाई र उपराष्ट्रपति पद माओवादी केन्द्रलाई दिने सहमति पनि यस अघि नै भइसकेको छ ।
यता, विपक्षमा रहेको काँग्रेसले पनि राष्ट्रपति पदमा आफू दावी कायमै राखेको छ । सत्तारुढ माओवादी केन्द्रको समर्थनमा आफ्नो पार्टीले राष्ट्रपति पाउने आशमा काँग्रेस रहेको बताइएको छ ।

वि.सं.२०७९ माघ ७ शनिवार १७:४८