एनआईसी एसिया बैंकले ६ महिनामा कमायो ३ अर्ब भन्दा बढी

वि.सं.२०७९ माघ ७ शनिवार १६:३१

काठमाडौं: एनआईसी एसिया बैंकले चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
जसअनुसार बैंकले खुद मुनाफातर्फ ३ अर्ब २७ करोड आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो ।
यसैगरी यो बैंकको स्वपुँजीमा प्रतिफल (आरओइ ) २४.७५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । स्वपुँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २२ वटै वाणिज्य बैकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको देखिएको छ ।
बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुगेको छ ।
दोस्रो त्रैमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दा ३५ लाखभन्दा बढी ग्राहक पुगेको बैंकले जनाएको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा आफूले दिएको बैंकको दाबी छ ।

वि.सं.२०७९ माघ ७ शनिवार १६:३१