उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधबार मध्यरातबाट सकिँदै
वि.सं.२०७७ भदौ ९ मंगलवार १३:०५
1.6K
shares
काठमाडौं: उपत्यकामा लागू गरिएको निषेधाज्ञा १० गते बुधबार मध्यरातबाट सकिँदै छ ।
निषेधाज्ञाको समय सकिनुअघि मंगलबार दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्टबीच बैठक बस्दैछ ।
तीनवटै जिल्लाका जिल्ला सुरक्षा समितिको निर्णयले भदौ ३ को मध्यरातदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञाको समय सकिनुअघि बस्ने बैठकले आगामी रणनीति बनाउने बताइएको छ ।
आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको स्थानीय प्रशासनको निष्कर्ष छ ।
प्रमुख जिल्ला अधिकारी र उपत्यकाका तिनवटै जिल्लाका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठकबाट निषेधाज्ञाको समयसीमा थप गर्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरुले अहिलेकै मोडलको निषेधाज्ञालाई थप एक साता बढाउने तयारी गरेका छन् ।
सोमबार उपत्यकाका स्थानीय प्रशासनले निषेधाज्ञाको प्रारम्भिक समीक्षा गरेका थिए । सो बैठकमा अहिलेकै निषेधाज्ञाको स्वरुपलाई निरन्तरता दिनुपर्ने कुरा उठेको थियो ।
प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुखसँग पनि यसबारे छलफल गर्ने भएका छन् ।
वि.सं.२०७७ भदौ ९ मंगलवार १३:०५



















