नेपालमा सावधानी नअपनाए फेरि लकडाउन हुन सक्छ
वि.सं.२०७७ असार ३ बुधवार २२:००
1.5K
shares
काठमाडौं: सरकारले लकडाउनलाई खुकुलो बनाएपछि मानिसहरुको चहलपहल ह्वात्तै बढेको छ । लकडाउन खुकुलो भएसँगै बजार, चोक, सडक र तरकारी बजारमा सामाजिक दुरी कायम नगरी र कतिपयले मास्क समेत नलगाई भीडभाडमा बढेको पाइन्छ । यस्तो खालको भिडभाडसँगै कोरोना संक्रमितको संख्या बढ्ने जोखिम पनि बढेको जनस्वास्थ्य विज्ञहरु भनाई छ ।
सरकारले लकडाउनको ढाँचा परिर्वतन गरेर जनजीवनलाई सामान्य बनाउन खोजेपनि कोरोना संक्रमणको पहिचान र नियन्त्रणमा राज्य र स्वयम् नागरिक पनि गम्भीर हुनुपर्ने देखिएको छ । सुरक्षाको उपाय नअपनाइ बाहिर निस्कदा संक्रमित हुने खतरा बढिरहेको अवस्था छ । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो बेलामा खुकुलो पारिएको लकडाउनमा लापरर्वाही गरे संक्रमणको उच्च जोखिम हुने खतरा बढ्ने देखिन्छ ।
काठमाडौं उपत्यकामा असावधानीका कारण दिनमा ३० देखि ४० जनामा कोरोना संक्रमण र ३-४ को मृत्यु हुने स्थिति आएमा लकडाउनलाई फेरि कडा बनाउने सम्भावना देखिन्छ । नेपालमा कोरोना संक्रमण न्यूनिकरणका लागि लकडाउन हुनुभन्दा अगाडि गत चैत्र ११ गते अघिझैँ ढुक भएर हिँड्ने स्थिति अहिले नभएको देखिन्छ ।
लकडाउन लामो समयसम्म गरेका कारण जनता उकुसमुकुस भएर यसरी एकैपटक सडक निस्किएको बिज्ञहरुको भनाई छ । राज्यले सुरुको समयदेखि लकडाउनलाई खुकुलो बनाउन थप गृहकार्य गरेर विस्तारै खोल्दै गएको भए अहिलेको जस्तो जोखिम नहुने बिज्ञहरुको तर्क छ । तर, विषम परिस्थितिमा लकडाउन खुकुलो भयो भन्दैमा जनताले पनि जिम्मेवार बनेर अनावश्यक रुपमा भीडभाड गर्न नहुने स्वास्थ्य विज्ञहरुको सुझाब छ ।
नेपाल सरकारले कोरोना संक्रमित फेला परेसँगै नीतिगत योजना बनाएर व्यवाहारिक रुपमा कार्यान्वयन गर्न नसकेका कारण वर्तमान स्थिति सिर्जना भएको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । लकडान खुकुलो भयो भन्दैमा कोरोना संक्रमणलाई सामान्य ढङ्गले लिन नहुने विशेषज्ञहरुको सुझाव छ । घरबाट कार्यक्षेत्र जाँदा र बजार जाँदा सामाजिक दुरी कायम गर्नुका साथै मास्कको प्रयोगलाई सबैले निरन्तरता दिनुपर्ने, अनिवार्य रुपमा साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी तथा विज्ञहरुले बताउँदै आएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार जहाँ धेरै मानिसको भीडभाड हुन्छ, त्यहाँ अनिर्वाय रुपमा मास्कको प्रयोग गर्नुपर्छ । मास्क लगाउँदा संक्रमण फैलने दर न्युन हुने उल्लेख छ । साबुन पानीले हात धुने, मास्कको प्रयोग र सामाजिक दुरीकायमलाई मन्त्रको रुपमा अनिर्वाय बनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । घरभित्र हुँदा भन्दा बाहिर निस्कदा कडा रुपमा यो नियमलाई पालना गर्न अति आवश्यक दखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य शिक्षाको बारेमा जनचेनता फैलाउन आवश्यक भएको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । राज्यले सुनाउने नागरिकले सुन्ने मात्रै नगरेर व्यवहारिक रुपमा लागु गर्न सके कोरोना भाइरसबाट मुक्त हुन सकिने विज्ञहरुको भनाई रहेको छ ।
वि.सं.२०७७ असार ३ बुधवार २२:००




















