थारुको चरित्र र सोच कहिल्यै पनि विखण्डनकारी होइन, थारुहरु अरुको लुटेर खाने जाति होइन
वि.सं.२०७८ साउन ३ आइतवार १३:१९
2.6K
shares
– लक्ष्मणजी आजको दिनमा तपाई भूमिगत, अर्धभूमिगत या सार्वजनिक के हो ?
लामो समयदेखि हामी शान्तिपूर्ण आन्दोलनमा छौँ । हामीले सरकारसँग पटकपटक वार्ता गर्यौँ, सहमति गर्यौँ, छलफल गर्यौँ । संविधान बन्दा हाम्रा एजेन्डा र माग सम्बोधन हुन सकेन । अहिले पनि हामी आन्दोलनमा छौँ । तर, आन्दोलनको स्वरुप अलिकति फरक ढंगले चलिरहेको छ । हामीले अरुले चार्ज लगाएझै शान्ति खलबल्याउनेगरि आन्दोलन गरेका छैनौँ ।
त्यो बेला टीकापुरमा दुर्भाग्यपूर्ण घटना भयो । टीकापुरमा हामीलाई झुटो आरोप लगाएर ४२ महिना जेल कोचियो । पछि उच्च अदालतको फैसलाले फेरि हामीमाथि चार्ज थपेको छ । यतिखेर पनि हामी शान्तिपूर्ण आन्दोल गरिरहेका छौँ । हाम्रो आन्दोलन विभिन्न समूहमार्फत् अघि बढिरहेको छ । म भूमिगत पनि छैन, अर्धभूमिगत पनि छैन । आफ्नै तरिकाले राजनीतिक गतिविधि अघि बढाइरहेको छु ।
– तपाईं अहिले सार्वजनिक रुपमा हिँड्दा केही हुन्न ?
राज्यले के गर्छ, हामीलाई थाहा छैन । हिजो पनि हामी जेल जाँदा हामीलाई राज्यले गिरफ्तार गरेर झुटो मुद्दा लगाउला भन्ने थिएन । त्यतिखेर पनि हामी खुल्लमखुल्ला हिँडिरहेका थियौं । सामान्य चिया खान बोलाउने बाहनाले हामीलाई गिरफ्तार गरियो। आज पनि म त्यस्तो असुरक्षित महसुस गर्दिनँ । किनभने हामी गल्ती नगरिकन जेल गयौँ । जेलबाट छुटिसकेपछि पनि उच्च अदालत दिपायलले गल्ती नगरिकन हामीलाई चार्ज लगायो । गल्ती नगरेकाले हामीले जेल जानुपर्ने कुनै कारण छैन । लुकेर हिँड्नुपर्ने कुनै कारण छैन । त्यसैले हामी चाहन्छौँ, हाम्रो शान्तिपूर्ण आन्दोलन सशक्त होस् ।
थारुहरु यो देशका नागरिक हुन कि होइनन् भन्ने कुरामा सर्वोच्चबाट सकारात्मक उत्तर खोजिरहेका छौँ । नेपाल एउटा स्वतन्त्र र सार्वभौम देश बन्नुभन्दा अघिदेखि नै थारुहरु यो देशको धर्तीपुत्र हुन् । यो देशमा पहिले थारु मात्रै थिए, अरु सब पछ्पिछि आएका हुन् । त्यसैले थारुको चरित्र र सोच कहिल्यै पनि विखण्डनकारी होइन । थारुहरु अरुको लुटेर खाने जाति होइन । थारुहरुको आफ्नै परम्परा र संस्कार छ ।
– तर, उच्च अदालतको फैसलाअनुसार त तपाईं जेलमै हुनुपर्ने हो नि त !
उच्च अदालतको फैसलाले थारुहरुको आन्दोलन र एकतालाई आतंककारी भन्छ । ज्यानमारा जत्थाको रुपमा व्याख्या गर्छ । त्यस्तो होइन । उच्च अदालत गलत छ, थारुहरुको शान्तिपूर्ण आन्दोलनका विरुद्धमा छ । त्यसैले हामीले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपिल गरिसकेका छौँ । त्यसकारण सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको सुनुवाइको पर्खाइमा हामी छौँ ।
– टीकापुर घटनाको भाष्य राजनीतिक भन्दा अपराधिक क्रियाकलापकै रुपमा स्थापित गर्न खोजिएको छ । के भन्नु हुन्छ ?
टीकापुर आन्दोलनलाई टीकापुर आन्दोलनका रुपमा मात्रै जोड्नुभएन । थारुहरुले उठाउन चाहेको, उठाएको आवाजको केन्द्र टीकापुर हो । त्यतिखेरको समय देशव्यापी रुपमा थारुहरु, अखण्ड सुदूरपश्चिम, दलित, मधेसी, मुस्लिमलगायतको आन्दोलन भइरहेको थियो, किनभने संविधानमा हाम्रो विषय छुट्ला कि भन्ने थियो ।
थारुहरुको आन्दोलनमा कसैले घुसपैठ गरेर हाम्रो आन्दोलनलाई बदनाम गराइयो । घटना हुनु दुर्भाग्यपूर्ण थियो । तर टीकापुरमा कसले घटना गरायो, टीकापुरमा हिंसा कसरी हुन गयो, हामी पनि जान्न चाहन्छौँ । राज्यले बनाएको लाल आयोग र देवीराम शर्मा संयोजकत्वको समिति, राष्ट्रिय मानवअधिकार आयोग पुग्यो त्यहाँ । तर ती सबै छानबिनको प्रतिवेदन किन लुकाइयो ? किनभने हामी निर्दोष थारुहरुलाई जेलमा हाल्ने, आतंक फैलाउने र संगठन गर्न नदिने र अपराधीलाई बचाउने काम गरिएको छ । राज्यले लाल आयोगको प्रतिवेदन ५ वर्षसम्म लुकाएर राख्नुको अर्थ टीकापुर घटनाका दोषी अरु नै हुन् भन्ने हो । उनीहरुलाई राज्यले किन जोगाएको छ ? थारुहरु दोषी होइनन् ।
– सर्वोच्चमाथि भरोसा छ ?
उच्च अदालतको फैसला हामीलाई चित्त नबुझेर सर्वोच्चमा अपिल गर्यौँ । झुटा मुद्दा लागेका ५८ मध्ये केही जेलभित्र, केही तारेखमा र केही हामी बाहिर छौँ । मलाई लाग्दैन रेशम चौधरीको मुद्दा अलग, मेरो मुद्दा अलग र अरु साथीहरुको मुद्दा अलग हो । केहीलाई ५ वर्षको जेल सजाय सुनाएको छ, केहीलाई ७ वर्षको सजाय सुनाएको छ, केहीलाई जन्मकैद भन्या छ । यसरी अलगअलग खालको सजाय सुनाउने घटना नै होइन ।
समग्र थारु आन्दोलन र थरुहट आन्दोलनले उठाएको राजनीतिक, सामाजिक र आर्थिक एजेन्डासंविधानमा समेटिनुपर्थ्यो भन्ने कुरा जायज हो। तर, टीकापुर घटना भएको दिन हामी त्यो आन्दोलनमा गएकै थिएनौं । त्यसैले झुटा मुद्दा लगाउनु भनेको हामीले उठाएको आन्दोलन दमन गर्नका लागि रचिएको एउटा खेल हो । कसैलाई कम या धेरै सजाय सुनाउनुमा खास फरक छैन । यो थारुहरुको एकता भाँडेर उनीहरुलाई सधैँभरी दास बनाउनका लागि रचिएको षडयन्त्र हो ।
– टीकापुर घटनापछि तपाईंहरुले आन्दोलन गरिराख्नुभएको छ । तर, थारु आन्दोलन भन्नेबित्तिकै अहिले धेरैले टीकापुर घटनाकै स्मरण गर्छन् । त्यो घटनाले थारु आन्दोलनप्रतिको धारणा नै नकारात्मक बन्यो होइन ?
थारुहरु यो देशका नागरिक हुन कि होइनन् भन्ने कुरामा सर्वोच्चबाट सकारात्मक उत्तर खोजिरहेका छौँ । नेपाल एउटा स्वतन्त्र र सार्वभौम देश बन्नुभन्दा अघिदेखि नै थारुहरु यो देशको धर्तीपुत्र हुन् । यो देशमा पहिले थारु मात्रै थिए, अरु सब पछ्पिछि आएका हुन् । त्यसैले थारुको चरित्र र सोच कहिल्यै पनि विखण्डनकारी होइन । थारुहरु अरुको लुटेर खाने जाति होइन । थारुहरुको आफ्नै परम्परा र संस्कार छ ।
टीकापुर घटना जब भयो, त्यस अघिदेखि नै थारुहरुको आन्दोलन कसरी तोड्ने भनेर राज्य लाग्यो । हिजो दास र कमैया भएका थारुहरुले अहिले बालुवाटार र सिंहदरबारमा राजनीतिक भागबण्डा र अंश खोजे भनेर शासकहरु आतंकित भएको मात्रै हो । त्यसैले टीकापुर घटनामा हामीलाई जोड्नु नै गलत छ ।
हामीलाई योजनाकार भनेर आरोप लगाइएको छ, हामी दमनका विरुद्धमा बोल्न पाउँदैनौँ ? अधिकार र न्यायको कुरा गर्दा थारु जहिले पनि अपराधी हुन्छ ? अधिकारको कुरा गर्दा हामीलाई एउटा न्यायाधीशले ज्यान मार्ने जत्थाको रुपमा व्याख्या गर्न मिल्छ ? त्यसैले टीकापुर घटनाका बारेमा उच्च अदालतले थारुहरुलाई यो देशको नागरिक होइनन् भन्ने हिसाबले गरेको फैसला गलत छ। त्यसैले हामी सर्वोच्च अदालतमार्फत् न्यायको पर्खाइमा छौँ। हामी सडक आन्दोलनको पनि तयारीमा छौँ ।
– न्यायको परीक्षण अदालतमा हुँदैछ भने सडक आन्दोलन चाहिँ किन गर्नुपर्यो त ?
सरसर्ती हेर्दा नेपालको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कहीँ न कहीँबाट परिचालित छ । सबै क्षेत्र यति भ्रष्ट छ कि, चलखेल र सेटिङमा काम हुन्छ । यसका विरुद्धमा पनि हाम्रो आन्दोलन केन्द्रित छ । बालुवाटार र सिंहदरबारमा बस्ने शासकको मनस्थिति कहिल्यै परिवर्तन भएन । लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि लड्दा ३ हजारभन्दा बढी थारुहरु सहिद भए । तर, आज त्यही थारुहरुलाई शासकहरुले दमन गरेर र झुटा मुद्दा लगाएर तर्साइरहेको छ । न्याय, संविधान सबैका लागि बराबर होइन र ? निर्दोष थारुलाई झुटा आरोप लगाएर गणतन्त्र टिकाउ हुँदैन । सर्वोच्चले टीकापुर घटनाका दोषीलाई कारबाही गर्नुपर्छ, निर्दोषलाई न्याय दिनुपर्छ ।
– मोर्चाले अहिले के गरिरहेको छ ?
हामी थरुहट थारुवान राष्ट्रिय मोर्चामार्फत् संविधानको अन्तरवस्तुमा उल्लिखत विषयहरु बुझाउने काम गरिरहेका छौँ । २०७२ असोज ३ गते जारी भएको संविधान कपटपूर्ण छ, थारुहरुको पक्षमा छैन । संविधानका कुन धारा कसरी व्याख्या गर्नुपर्छ र संशोधन गर्नुपर्छ भनेर जनतालाई प्रशिक्षित गरिरहेका छौँ ।
अर्को, पार्टी संगठन विस्तार गर्न पनि हामीहरु लागिरहेका छौँ, अहिले हाम्रो संगठनमा ५०/६० हजार संगठित भइसकेका छन् । यतिखेर कोभिड १९ पनि छ, यो सबै कुरालाई ध्यानमा राख्दै यो मुलुकमा अब हुने कुनै पनि चुनावमा आफ्नै पार्टी, आफ्नै चुनाव चिन्हबाट चुनाव लड्नेगरि पार्टी दर्ताको तयारी गरिरहेका छौँ। ब्यालेटलाई प्रयोग गर्दै अघि बढ्ने हाम्रो सोच छ । आउँदो दिनमा हामी हाम्रै नेतृत्वमा राजनीतिक दल बनाउँछौँ ।

– एक त थारु आन्दोलन नै एकीकृत छैन, दोस्रो मुद्दाका हिसाबले यहाँहरुसित नजिक रहेको जसपाको हालत त्यो अवस्थामा छ। यो पृष्ठभूमिमा तपाईंहरूले आफ्नै दल बनाउने कुरालाई कसरी लिने ?
आन्दोलनमा कहिल्यै पनि शतप्रतिशत सहभागी हुन्छन् भन्ने होइन । आन्दोलनको थालनी एक जनाबाट हुन्छ, जहाँ सत्य हुन्छ, जहाँ निष्ठावान व्यक्तिको नेतृत्वदायी भूमिका हुन्छ । त्यसकारण हामीलाई लाग्ने के हो भने आन्दोलन धेरै अगाडि बढिसक्यो र आन्दोलनले धेरै कुरा केन्द्रीकृत गरिसक्यो । त्यसकारण थारु आन्दोलन फुटेको छैन, जुटेको छ ।
हिजो थारु आन्दोलन हरायो भनिएको थियो । हामी अहिले सशक्त र संगठित छौँ । यो देशमा बाहुनहरूको दर्जनौँ पार्टी छ, क्षेत्रीको दर्जनौँ पार्टी छ । १५२ वटा पार्टीमा १ सय ३० वटा बाहुनक्षेत्रीको पार्टी छ । यो देशमा को विभाजित छैन ? सबै पार्टी फुटेको छ । जहाँसम्म जसपाको कुरा छ, त्यो पार्टीले हाम्रो पक्षमा कुरा उठाएको थियो । तर आजको दिनमा सबै पार्टीहरू स्वार्थी छन्। सबै पार्टीको निहित स्वार्थ छ । त्यसैले अब हामी कसैसँग लागेर होइन, कसैसँग भिक्षा मागेर होइन, कसैको दास बनेर होइन, हामी आफ्नै नेतृत्वमा अघि बढ्नुपर्छ भनेर नै लागेका छौँ । हिजो नेतृत्व नहुँदा केही साथी अर्को पार्टीमा गए, अहिले धेरै साथी फर्किंदैछन् । हामी फुटेका छैनौँ। यत्ति हो– हामीसित आफ्नै पार्टी नहुँदा आफ्नै पहिचानसहित चुनावमा जान सकेनौँ । अब हामी त्यसको पनि तयारीमा छौँ ।
शासकहरू जबजब क्रुर र तानशाही हुन्छन्, जनताको विरुद्धमा एकपछि अर्को बेइमानी गर्दै जान्छन्, त्यतिखेर जनता सशक्त भएर विद्रोह हुन्छ । त्यसकारण थारु आन्दोलनका क्रममा हामी जोजोसँग जोडिएका छौँ, हामी अन्याय, अत्याचार र बेइमानी सहेर बस्दैनौँ, जनता चुप लागेर बस्दैन । त्यसैले अहिलेको आवश्यकता शान्तिपूर्ण आन्दोलन नै हो । हामी राज्यको आतंकबाट डराउँदैनौँ । यो बीचमा हामीमाथि जे जति षडयन्त्र भयो त्यसकाविरुद्ध पनि हामी आवश्यकताअनुसार सडकमा जान्छौँ । जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ, त्यो आन्दोलनको सामान्य नियम हो ।
– पछिल्लो समय जसपाको महन्थ ठाकुर समूह सरकारमा जाँदा मधेस र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ताको विषयलाई आफ्नो मुख्य विषय बनाएको थियो । तपाईंहरू र जसपाबीचको सम्बन्ध के हो ?
हामीलाई धेरैले सहयोग गरेका छन् । जसपाले हामीलाई अलि बढी सहयोग गरेको छ ।
– तर, यहाँहरु निकट रहेको पूर्वराजपा समूह त सत्तासाझेदार नै छ ?
राजपा वा अहिलेको जसपा पटकपटक सत्तामा जाने र बाहिरने क्रम यो बीचमा भयो । जसपाले थारु, जनजाति, मधेसीको आवाज सशक्त ढंगले उठाउँदै थियो। सत्तामा जान किन हतार गर्यो मैले बुझ्न सकेको छैन । हामी उहाँहरुको नेता कार्यकर्ता होइनौँ । हामी जेलबाट चुनाव लड्दा उहाँहरूको चुनाव चिन्हबाट लड्यौँ, रेशम चौधरीजीले जित्नुभयो । उहाँले के गर्नुहुन्छ मलाई थाहा छैन तर मैले हाम्रो राजनीतिक तथा सांगठनिक काम नयाँ ढंगले अघि बढाएको छु ।
जसपा आफ्नै कार्यक्रममा छ, हामी आफ्नै कार्यक्रममा छौँ । उहाँहरु सत्तामा जान गरेको लिखित, अलिखित सम्झौता के हो मलाई थाहा छैन, तर यत्ति भन्छु रेशम चौधरीलाई बार्गेनिङ गरेर छुटाउने बाहनामा सरकारमा जानु भनेको दुर्भाग्यपूर्ण हो । यसले हामीलाई कुनै प्रभाव पार्दैन । किनभने हामी त झुटा मुद्दा बोकिरहेका छौँ, तारेख धाइरहेका छौँ। उहाँहरु १९ दिनका लागि किन सत्तामा जानुभयो, त्यसबारेमा मलाई थाहा छैन ।
– टाउकोमा यत्रो मुद्दाको भारी बोकेर नयाँ पार्टी खोल्छु र कायापलट ल्याउँछु भन्ने तपाईंको भनाइ कसरी पत्याउने ?
शासकहरू जबजब क्रुर र तानशाही हुन्छन्, जनताको विरुद्धमा एकपछि अर्को बेइमानी गर्दै जान्छन्, त्यतिखेर जनता सशक्त भएर विद्रोह हुन्छ । त्यसकारण थारु आन्दोलनका क्रममा हामी जोजोसँग जोडिएका छौँ, हामी अन्याय, अत्याचार र बेइमानी सहेर बस्दैनौँ, जनता चुप लागेर बस्दैन । त्यसैले अहिलेको आवश्यकता शान्तिपूर्ण आन्दोलन नै हो । हामी राज्यको आतंकबाट डराउँदैनौँ । यो बीचमा हामीमाथि जे जति षडयन्त्र भयो त्यसकाविरुद्ध पनि हामी आवश्यकताअनुसार सडकमा जान्छौँ । जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ, त्यो आन्दोलनको सामान्य नियम हो ।
– तपाईंहरूको आन्दोलनको स्वरुप कस्तो हुन्छ ?
हाम्रो आन्दोलनको सुरुवात र अन्त्य शान्तिपूर्ण नै हुन्छ । शासकले बन्दुकले दमन गर्छ । जनतालाई घात गर्ने प्रवृत्तिविरुद्ध नेपाली जनताले पटकपटक आन्दोलन गरेको छ । अहिलेको सन्दर्भमा कांग्रेस र कम्युनिस्ट भन्ने ठूला दलहरु असफल भइसके । उनीहरूको विचार, त्याग र बलिदान घर परिवार, नातागोतालाई पोस्ने र आफू कुबेर बन्ने हिसाबले गयो । त्यसैले हाम्रो आन्दोलनलाई नयाँ ढंगले अगाडि त बढाउँछौँ नै, तर यो कति लामो जान्छ त्यो थाहा छैन । तर, जनता सडकमा आउँछ ।
वि.सं.२०७८ साउन ३ आइतवार १३:१९



















