न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित
वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१
1.7K
shares
काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन् । नेपाल चिकित्सक संघले आजदेखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
बिहीबार नै विज्ञप्ति जारी गरी संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको थियो । निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौं तह (४८ हजार रुपैयाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरूले माग राखेका छन् ।
यसैबीचवीर अस्पतालका आवासीय लगायतका अन्य सिनियर चिकित्सक आन्दोलनमा साथ दिनका लागि माइतीघर मण्डला पुगेका छन् । जसका कारण ओपीडी सेवा सञ्चालन भएको छैन । वीर अस्पतालमा दैनिक दुई हजारभन्दा बढीले ओपीडी सेवा लिने गरेका छन् ।
यस्तै कान्ति बाल अस्पतालमा पनि ओपीडी सेवा बन्द भएको छ । पाटन अस्पतालका आवासीय चिकित्सकले सेवा बहिष्कार गरेपनि अन्य चिकित्सकको सहायताले सेवा सञ्चालन गरिएको छ । चिकित्सकले सेवा बहिष्कार गरेसँगै अस्पतालमा पुगेका बिरामी अलपत्र परिरहेका छन् । आन्दोलनरत चिकित्सक अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१



















