विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

वि.सं.२०७९ जेठ ८ आइतवार १५:१४

दोहा: विदेशी भूमि कतारमा किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा, ष्याँदर पिदार, यक्वा तङनाम, साकेला उभौली ५०८२ भव्य रूपमा मनाएका छन् ।
कतारमा स्थापित तीन किराती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा कतारको किरात मूल समारोह आयोजक समितिद्वारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलन गरी नेपाली राष्ट्रिय गान, कर्मभूमिलाई सम्मान साथ कतारको राष्ट्रिय गान र “यो भूमि चुम्ने” किराती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व बारेमा कार्यक्रमका उप-संयोजक किराया शाखा, कतारका अध्यक्ष शंकरमान राईले प्रकाश पारेका थिए । तीन संस्थाका सुनुवार ना:सो, लिम्बू-फेदङ्वा र राई-नछुङद्वारा प्रकृति पुजा गरिएको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ, बैचारिक संस्थाहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश एकका सबै जिल्ला संस्थाहरु, बग्मती प्रदेशका जिल्ला संस्थाहरु, पत्रकार तथा साहित्यिक संस्थाहरुको आतिथ्य रहेको थियो ।
कार्यक्रममा दर्जनभन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । दुई चरणमा गरिएको पहिलो औपचारिक कार्यक्रम किरात मुल समारोह समितिका सदस्य सचिव विवश लिम्बुले सञ्चालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम विनोद लिम्बु र प्रकृति राईले सञ्चालन गरेका थिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत सुनुवार सेवा समाज शाखा, कतारले मौलिक झाँकी ष्याँदर शिल, किरात याक्थुम चुम्लुङले केलाङ र किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेको थियो ।
साकेला सिलिबारे किराया शाखा कतारका पूर्व अध्यक्ष तथा सल्लाहकार धिरज राईले प्रष्टाएका थिए । कार्यक्रममा तीनै संस्थाका कलाकारहरुले सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलएका थिए ।
कार्यक्रम अन्त्यमा उपस्थित सबैलाई उप-संयोजक कियाचु कतारका अध्यक्ष हर्क खजुमले धन्यवाद मन्तव्य राखेका थिए । औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह समिति कतारका संयोजक सभापति नीर बहादुर सुनुवारले गरेको थिए ।

वि.सं.२०७९ जेठ ८ आइतवार १५:१४