२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्किए
अमेरिकी सैनिक बाहिरिँदै गर्दा तालिबानले राति काबुलको आकाशमा रातो प्रकाश छर्दै मेसिन गनमार्फत गोली चलाएर मनाए खुसियाली
वि.सं.२०७८ भदौ १५ मंगलवार ०९:५६
एजेन्सीः सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी सेना करिव २० वर्षपछि स्वदेश फर्किएको छ ।
काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमान्डर जनरल क्रिस डोनाह्यु पनि सोमबार राति अन्तिम उद्धार उडानमार्फत आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ ।
यसअघि तालिबानले डेडलाइन (अगस्ट ३१) भित्रै अमेरिकी सैनिक फिर्ता भइसक्नुपर्ने बताइरहेको थियो भने अमेरिकाका राष्ट्रपति जो बाइडनले यसमा कुनै फेरदबल नहुने प्रतिबद्धता जनाएका थिए ।
अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ । योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ ।’
जुन मिसन सन् २००१ सेप्टेम्बर ११ मा सुरु भएको थियो । यसअन्तर्गत अमेरिकाले ओसामा बिन लादेन तथा उनका थुप्रै अल कायदा सदस्यलाई कारबाही गरेको थियो ।
अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दसकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको पनि उनले जानकारी दिए ।
यसैबीच अन्तिम उडानमार्फत अमेरिकी सैनिक बाहिरिँदै गर्दा तालिबानहरूले राति काबुलको आकाशमा रातो प्रकाश छर्दै मेसिन गनमार्फत गोली चलाएर खुसियाली मनाएका छन् ।
यही अगस्ट १५ देखि अफगानिस्तानको सत्ता तालिबान संगठनले आफ्नो हातमा लिएको छ ।
वि.सं.२०७८ भदौ १५ मंगलवार ०९:५६