गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’
वि.सं.२०८२ असोज ९ बिहीवार १२:०६
4.5K
shares
काठमाडौं: भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत अनि कहिलेकाहीँ कठोर र अप्रिय लाग्ने निर्णय पनि गर्नुपर्ने प्रहरी पेशा । यो सम्भव छ ? नेपाल प्रहरीको निरीक्षकदेखि अतिरिक्त महानिरीक्षक भएर गएको भदौ १९ गते अवकाशमा जानु अघिसम्म टेकबहादुर तामाङ यस्तै-यस्तै प्रश्नले घेरिन्थे । तर, असम्भव केही छैन भन्ने उदाहरण प्रस्तुत गर्दै उनले कलम र बन्दूकको बेजोड समिश्रण गराउँदै आफूलाई चर्चित गीतकार टेक तामाङ भनेरसमेत चिनाए ।
नेपाल प्रहरी संगठनमा जिम्मेवारी निर्वाह गर्दा कतिपय जिम्मेवारीमा आफूलाई ‘रोल मोडल’ सावित गराएका चर्चित गीतकार टेक तामाङको ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’ बोलको गीतको म्यूजिक भिडियो भर्खरै टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । गीत त सुमधुर छ नै, कलाकार सरोज खनाल र यु-२० राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुले गीतको लयमा गरेको अभिनयसमेत नेपाली गीत-संगीतको दुनियाँमा नयाँ प्रयोग लाग्न सक्छ ।
गीत टेक तामाङ, म्यूजिक राजकुमार बगर, स्वर सत्यराज आचार्य, निर्देशन निकेश खड्का, अभिनय सरोज खनाल र यु-२० राष्ट्रिय महिला फुटबल टिम, एरेञ्ज सञ्जिव बराइली, क्यामेरा उत्सव दाहाल, प्रोडक्सन म्यानेजर सुदीप ढकाल, सम्पादन विकास धमला, पोष्टर सन्तोष डिजाइनिङको रहेको ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’ बोलको गीत र नवीन शैलीको म्यूजिक भिडियो खासगरी युवा पुस्ता, तर सबैखाले दर्शक-स्रोताको रोजाइमा पर्ने अपेक्षा गर्न सकिन्छ ।
हार र जीत जसको-जतिखेर पनि हुनसक्छ भन्ने सन्देश बोकेको ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’ बोलको भर्खरै सार्वजनिक भएको चर्चित गीतकार टेक तामाङको गीत र म्यूजिक भिडियोले ‘जीत र हार’ सँगसँगै ‘हार र जीत’ हुन्छ भन्ने प्रष्ट सन्देश दिन्छ । गीत-संगीतका पारखीले एकपटक सुने-हेरेपछि गीतको मर्म सहजै पत्ता लगाउन सक्छन् । स्मरणीय छ, केही समयअघि सम्पन्न ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नेपाली गीत-संगीत क्षेत्रकै ऐतिहासिक कार्यक्रम सावित भएको थियो ।
वि.सं.२०८२ असोज ९ बिहीवार १२:०६




















