कुमारी बैंकले १९ प्रतिशत खुद नाफा कमायो
वि.सं.२०७६ माघ २० सोमवार १५:५२
1.3K
shares
काठमाडौं: कुमारी बैंकले पुस मसान्तसम्म महिनामा ८० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ८० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा १८.७५ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकको नाफा ६७ करोड ६२ लाख रुपैयाँ थियो ।
बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ७/७ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैंकको निक्षेप करिब ७३ अर्ब २० करोड र कर्जा ७३ अर्ब ०१ करोड रुपैयाँ थियो ।
पुस मसान्तसम्म बैंकको जगेडा कोष २ अर्ब २४ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब १५ करोड रुपैयाँले बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८७ करोडले बढाएर ९ अर्ब ५५ लाख रुपैयाँ पुर्यायो । बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ४२ करोडबाट बढेर ५ अर्ब २० करोड पुग्दा ब्याज खर्च २ अर्ब ९१ करोडबाट ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । ६ महिनामा बैंकको कर्मचारी खर्च अघिल्लो वर्ष ४६ करोड १९ लाख रहेकोमा यो वर्ष ६१ करोड ९२ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब १४ करोड बढेर ३५ करोड पुगेको छ ।
पुस मसान्तसम्म सो बैंकको पुँजी पर्याप्तता अनुपात ११.५२ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई १.२२ प्रतिशतबाट १.०४ प्रतिशतमा पुगेको छ । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा बेसरेटमा भने उल्लेख्य सुधार देखिएको छ । पुस मसान्तसम्म सो बैंकको कस्ट अफ फण्ड ७.५० प्रतिशत र बेसरेट १०.४५ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ८.१२ प्रतिशत बेसरेट ११.५५ प्रतिशत थियो । बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.३७ प्रतिशत छ । यो अनुपात राष्ट्र बैंकले तोकेको ४.४० प्रतिशतको सीमाभित्र हो ।
वि.सं.२०७६ माघ २० सोमवार १५:५२




















