अक्सिजन प्लाण्ट स्थापनाका लागि आधार दरमा ऋण उपलब्ध गराउने
वि.सं.२०७८ जेठ ५ बुधवार १४:०५
2.3K
shares
काठमाडौं: अक्सिजन प्लाण्ट वा लिक्विड अक्सिजन प्लाण्टस्थापनाका लागि आधार दरमा नै ऋण उपलब्ध गराउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले कोभिड १९ को दोस्रो लहरमा नेपालमा अक्सिजन सिलिन्डर तथा अक्सिजनको अभाव भएको यथार्थलाई मध्यनजर गर्दै यसको उपचारमा प्रयोग हुने सामग्रीको खरिदको लागि चाहिने ऋण आधार दरमा नै दिने व्यवस्था गरेको हो।
राष्ट्र बैंकका अनुसार स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गर्नुपर्नेछ ।
त्यस्तै राष्ट्र बैंकले हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि रु ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था पुनर्कर्जा हो। सीमित अवधिको लागि ग्राहक तथा ऋणीबाट असुलउपर गर्नुपर्ने ब्याजदर समेत तोकी विद्यमान ऋणीहरुलाई यस्तो कर्जा प्रदान गरिन्छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकमुष्टरूपमा सस्तो ब्याजदरमा राष्ट्र बैंकले प्रदान गरेको कर्जालाई पुनर्कर्जाका रूपमा बुझिन्छ। जुन कर्जालाई बैंक तथा वित्तीय संस्थाले ऋणीलाई वितरण गर्छन्।
बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जा लाई विशेष पुर्नकर्जा भनिएको छ। यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम-व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरूलाई मानिएको छ।
बिशेषकर्जा अन्तर्गत बैंकहरुले राष्ट्र बैंकबाट १ प्रतिशत ब्याजदरमा पैसा पाउँछन् भने बैंकहरुले बिशेष कर्जा लिने ग्राहकबाट बढीमा ३ प्रतिशत ब्याज लिन पाउँछन्।
यो पनि पढ्नुहोस् :
नबिल बैंकले वीर अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने
वि.सं.२०७८ जेठ ५ बुधवार १४:०५



















