लकडाउनको बेला ६ अर्ब रुपैयाँको औषधि आयात
वि.सं.२०७७ असार ५ शुक्रवार ११:१८
1.5K
shares
काठमाडौं: गत चैत ११ गतेदेखि जारी लकडाउनको अवधिमा ६ अर्ब रुपैयाँ बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको जनाएको छ ।
सो अवधिमा चार अर्ब ५७ करोड २९ लाख ९३ हजार बराबरको तयारी औषधि र एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार लकडाउनको अवधिमा तीन लाख १२ हजार ८ सय ८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २ सय २७ मेट्रिक टन दलहन, ९९ हजार ३ सय ७३ मेट्रिक टन तरकारी, ३९ हजार ४ सय ४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको जनाएको छ ।
लकडाउनको अवधिमा केही वस्तुको आयातमा थपघट भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पाँचौँ हप्तादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात दशौँ हप्ताको तुलनामा एघारौँ हप्तामा दोब्बर भएको छ । बन्दाबन्दीको छैटौँ हप्तामा दलहन तथा गेडागेडी, फलफूल तथा तयारी औषधि आयातमा वृद्धि भएको थियो भने औषधिको कच्चापदार्थ नवौँ हप्तामा आयातमा वृद्धि भएको थियो ।
रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तर रूपमा सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधि लगायतका पदार्थ लिएर काठमाडौँ उपत्यकामा ३ हजार ८ सय ९० ट्रकहरु प्रवेश गरेको जनाइएको छ । ती मध्येमा धान बोकेका ७० , मकै बोकेका ३ सय ९२, चामलका ६ सय ६४, गहुँका १ सय ४७, मैदाका १ सय ५१, चिनीका १ सय १, नुनका ३१, दालका १ सय ५, अण्डाका १ सय ३५, कुखुराका १ सय ६७, फलफूलका ४ सय २०, दूधका २ सय ७६, औषधिका २ सय ९, घ्यूतेलका १ सय ९२, अक्सिजनका नौ र तरकारीका ८ सय २१ ट्रक उपत्यका प्रवेश गरेका थिए ।
वि.सं.२०७७ असार ५ शुक्रवार ११:१८




















