उत्तर कोरियाली नेता किम जोङ उन आज भियतनामको दोङदाङ पुग्दै
वि.सं.२०७५ फागुन १४ मंगलवार ०७:४७
1.9K
shares
उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि भियतनाम-चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि किम आज विहानसम्म दोङदाङ पुग्दै छन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ । किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको र ती क्षेत्रलाई सेनाले सुरक्षा प्रदान गरिरहेका छन् ।
उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै छन् । दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटर बाटो हुँदै भियतनामको राजधानी हनोई पुर्याइने छ। हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ । शनिबार नै रेल चढेर भियतनामको यात्रामा हिंडेका किम चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्न लागेका हुन् ।
किम साढे दुई दिनमा करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन् । फेब्रुअरी २७ र २८ मा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच दोस्रो चरणको उच्चस्तरीय वार्ताका हनोईमा हुँदैछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि आज नै हनोई पुग्ने कार्यक्रम रहेको छ ।।
वि.सं.२०७५ फागुन १४ मंगलवार ०७:४७




















