फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ
वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८
69
shares
एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखिएको छ । शनिबार देशका विभिन्न शहरहरूमा प्रदर्शन र प्रहरीसँग झडप भएको थियो । झडपपछि एक हजार जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जनाएको बीबीसीले जनाएको छ ।
दिनभर प्रायः शान्तिपूर्ण रहेका जुलुसहरू साँझपख हिंसात्मक बन्न पुगेका थिए । पेरिस, मार्से, लियों, बोर्डो र क्लेरमोन्ट–फेरान्डजस्ता प्रमुख शहरहरूमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच तीब्र झडप भए । भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । समाचार अनुसार फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर करिब ४ लाख १० हजार मानिस प्रदर्शनमा उत्रिएका थिए । यद्यपि, ट्रेड युनियनहरूले भने यो सङ्ख्या ८ लाखको हाराहारीमा रहेको दाबी गरेका छन् ।
अघिल्लो साता भएका लुटपाट, तोडफोड र आगजनी दोहोरिन नदिन सरकारले देशभर ७० हजार प्रहरी तथा विशेष सुरक्षा बल तैनाथ गरेको थियो । राष्ट्रपति इम्यानुएल म्याक्रोनले यो साता मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गरेका थिए । दक्षिणी सहर मार्सेमा प्रदर्शनकारीहरूले फोहोरका डब्बाहरूमा आगो लगाएर सडक बन्द गरेका थिए । बोर्डो शहरमा पसलका काठका फ्ल्याकहरू उखेलेर बारिकेड बनाइएको थियो भने लियोंमा निषेधित क्षेत्रमा भेला भएका १५० भन्दा बढी विद्यार्थीमाथि प्रहरीले लगत्तै अश्रुग्यास प्रहार गरेको थियो ।
फ्रान्सको आगामी राष्ट्रपति निर्वाचन आउन ६ महिना मात्र बाँकी रहँदा विपक्षी दलहरूले यो अशान्तिको सम्पूर्ण जिम्मेवारी राष्ट्रपति म्याक्रोन र उनको मन्त्रिमण्डलले लिनुपर्ने बताएका छन् । शनिबार फ्रान्सबाहेक अल्बानियाको तिराना, बेल्जियमको ब्रसेल्स र इटलीको मिलानमा पनि महँगीविरुद्ध प्रदर्शनहरू भए ।
वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८




















