मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद
वि.सं.२०८३ असोज ११ आइतवार १२:२४
645
shares
पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट झण्डै २७ करोड, ८५ लाख बराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्टस् तथा कस्मेटिकलगायतका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले उक्त सामान ओसार-पसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारी साधनसमेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ । स्मरणीय छ, सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीअन्तर्गत रहेको मधेश प्रदेशमा त्यसयता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले बाहिनीपतिको कमाण्ड सम्हालेका छन् ।
त्यस्तै सोही अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशमा ३० लाखभन्दा बढी रुपैयाँ बराबरको १ हजार १ सय क्यूफिट काठ बरामद गर्नुका साथै १ सय २ ग्राम चाँदीसमेत बरामद गरेको छ । साथै उक्त कार्यमा संलग्न ८४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ । मधेश प्रदेशस्थित सीमा क्षेत्रमा हुने लागूऔषध ओसार-पसार कार्यलाई समेत सशस्त्र प्रहरी बल, नेपालले कडाई गर्दै आइरहेको छ । तीन महिनाको अवधिमा ब्राउन सुगर १ सय ९३ ग्राम, चरेश ९ किलो ५ सय ग्राम र गाँजा १ हजार ६ सय ६ किलोभन्दा बढी बरामद गरेको छ । सो अवधिमा ३ वटा कटुवा पेस्तोल, २ थान सिक्सर, २ थान भरुवा बन्दूक तथा सोको गोली र बारुदसमेत बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा हुने मानव बेचविखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार वर्तमान सरकारको नीति-निर्देशनअनुरुप मधेश प्रदेशको शान्ति-सुरक्षा तथा सुशासन कायम राख्नका लागि सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षादेखि अवैध चोरी-तस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप रोकथाममा सशक्त बन्दै आएको छ ।
साम्प्रदायिक प्रदर्शन, बलात्कार घटना, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रणलगायतका काम-कारबाहीमा सशस्त्र प्रहरी बल, नेपालले अन्य सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गरी परिचालनका क्षेत्रमा थप संयमित भएर काम गर्दै आइरहेको छ । संगठनको नीति-निर्देशनलाई अक्षरशः पालना गर्दै मधेश प्रदेशस्थित जिल्लाहरुको सीमा सुरक्षामा थप सक्रिय भई परिचालन भएको आभास आमनेपाली सर्वसाधारणहरुसम्म महसुस भएको छ । सशस्त्र प्रहरी बल, नेपालले सीमा चिन्हहरुको डिजिटल रेकर्ड तथा भौतिक अवस्थाको अद्यावधिक गर्नुका साथै समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरहरुको मर्मत-सम्भार गर्दै आएको छ ।
दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रमण रोक, अतिक्रमित क्षेत्र खाली गराउने कार्यमा समकक्षीहरुसँग निरन्तर समन्वय गरी सहजता अपनाउँदै आएको सशस्त्र प्रहरी बल, नेपालले नेपाल–भारत खुला सीमाबाट हुने तस्करी, मानव वेचविखन, सीमा अपराध नियन्त्रमा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालका इकाइहरुलाई थप सक्रिय बनाएको बुझिएको छ । सशस्त्र प्रहरीले मधेश प्रदेशस्थित विभिन्न नदीजन्य ठाउँहरुमा उत्खनन गर्ने कार्यमा संलग्न २२ वटा ट्याक्टर, २६ वटा टिपर र २ वटा जेसीबीसमेत यो तीन महिनाको अवधिमा नियन्त्रणमा लिएको छ ।
मनसुनको समय शुरु भएदेखि सशस्त्र प्रहरीले मधेश प्रदेशमा विपदमा परेका १५ पुरुष र १५ महिला गरी ३० जनालाई सकुशल उद्धार गर्न सफल भएको छ । विभिन्न घटनामा परेका २ सय ११ पुरुष र ६३ जना महिला गरी २ सय ७४ जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याएको छ । सूचनाका आधारमा अवैध सामान बरामद गर्नका लागि बाहिनीमा सिनियर अधिकृतको कमाण्डमा स्ट्राइकिङ टिम खटाइनुका साथै सीमाका गणहरुमा समेत सीमा इलाका अनुगमनका लागि डेडिकेटेड अधिकृत खटाई कार्य गरिएको छ । सीमा सुरक्षा र सहजीकरणतर्फ सशस्त्र प्रहरी बल, नेपालले सीमाबासीलाई राज्यको उपस्थितिको अनुभूति दिने गरी जनविश्वास बढाउने काममा जोड दिएको छ ।
वि.सं.२०८३ असोज ११ आइतवार १२:२४



















