नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित
वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७
102
shares
काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानलाई नेपालले ५ विकेटले पराजित गरेको छ । कुशल भुर्तेल र ललित नारायण राजवंशीको उत्कृष्ट बलिङमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले अफगानिस्तानलाई हराएको यो पहिलो पटक हो ।
जितको लागि १०३ रनको लक्ष्य नेपालले १७ ओभर २ बलमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो । दुई ओपनर कुशल र आशिफ शेख आउट हुँदा नेपालले १२ रन मात्र बनाएको थियो । कुशल गोल्डेन डक आउट हुँदा आशिफ २ रनमा आउट भए । लगत्तै कुशल मल्ल पनि ९ रन जोडेर पबिलियन फर्किए । यसपछि सन्दीप जोराले ३५ बल खेल्दै ३ चौका र १ छक्का सहित ३४ रन बनाए । उनी रन आउट भए । १० ओभरको समाप्तीमा नेपालले ४ विकेट गुमाउँदै ५६ रन बनाएको थियो । यसपछि दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले पाँचौं विकरटको लागि ४६ रनको साझेदारी गरे । दीपेन्द्र १५ रन बनाएर आउट भए । रोहित अविजित ३३ रनमा रहँदै नेपाललाई जित दिलाए । बलिङमा फारिदुन दोओदजाइ, अब्दुल्लाह अहमदजाई र अरब गुलले १/१ विकेट लिए ।
यसअघि कारोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले टस जितेर रोज्यो । अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनायो । ललितले पहिलो क्रमका तीन अफगानी ब्याटरलाई आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । ओपनर हसन इसाकिललाई डक आउट गर्दा अर्का ओपनर मोहम्मद एकरामलाई २ रनमा र करिम जन्नतलाई ९ रनमा पबिलियन बाटो देखाउन ललित सफल रहे । १६ रन जोड्दा अफगानिस्तानले तीन विकेट गुमायो ।
यसपछि कुशल भुर्तेलले लगातार चार विकेट लिए । ३० रन जोडेका फैजल खान दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट गराए । ७ रन बनाएका मोहम्मद इशाक एलबीडब्लु धरापमा परे । कुशलले कप्तान डार्विस रसोलीलाई गोल्डेन डक आउट गरे। उनी पनि एलबीडब्लु आउट भए । यसपछि ३० रन बनाएका नाजिबल्लाह जर्डानलाई कुशललर करणद्वारा कमयाच आउट गराए । त्यतिखेर अफगानिस्तानले ७ विकेटको नोक्सानीमा ९५ रन बनाएको थियो । बलिङमा कुशलले ४ ओभरमा १ मेडन सहित मात्र २१ रन दिएर ४ विकेट लिए । ललितले ४ ओभरमा १३ रन दिएर ३ विकेट झारे ।
एसियन गेम्समा जितबाट सुरू गरेको नेपालको यो जित विशेष पनि बन्यो । टी-ट्वान्टी आईमा दोस्रो पटक अफगानिस्तानसँग खेल्दा नेपालको यो पहिलो जित पनि बन्यो । यसअघि सन् २०१४ को विश्व कपमा अफगानिस्तानसँग नेपाल ९ रनले हारेको थियो । नेपालले भोलि जापानसँग खेल्नेछ । समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले हराएको थियो ।
वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७



















