इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा
वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५
447
shares
काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक तथा सनसनीपूर्ण सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।
४० वर्षअघि सन् १९८६ को विश्वकपमा म्याराडोनाले खेलका क्रममा यी दुई टोलीबीच जुन २-१ को नतिजा निस्किएको थियो, ठीक त्यही स्कोरलाइनमा अर्जेन्टिनाले जित दर्ता गरेको छ । यो जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ भने ६० वर्षपछि फाइनल पुग्ने इंग्ल्यान्डको सपना चकनाचुर भएको छ ।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो । दुवै टोलीले सुरुवाती समयमा गोलका खासै ठूला अवसरहरू सिर्जना गर्न सकेनन् । तर, दोस्रो हाफको ५५औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १-० गोलको अग्रता दिलाए । गोल खाएपछि अर्जेन्टिनाले इंग्ल्यान्डमाथि लगातार आक्रमण बुन्यो । खेल सकिन ५ मिनेट मात्र बाँकी रहँदा लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिँदै गर्दा खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा फेरि मेस्सीकै पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए । खेलमा २ असिस्ट गरेका मेसी ‘प्लेयर अफ दि म्याच’ समेत चुनिए । इंग्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नो देशका लागि १२१औँ खेल खेल्दै इंग्ल्यान्डको इतिहासमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने आउटफिल्ड खेलाडीको कीर्तिमान बनाए । अब उपाधिका लागि आगामी आइतबार न्युयोर्क न्यू जर्सी (मेटलाइफ स्टेडियम) मा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ ।
वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५




















