सीटीईभीटीले ४८० विद्यार्थीलाई निःशुल्क पढाउने
वि.सं.२०८२ साउन ११ आइतवार १६:०१
1.4K
shares
काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विभिन्न क्षेत्र र समुदाय विशेषका ४८० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ । यस छात्रवृत्तिमा पढ्न पाउने विद्यार्थीले उल्टै वर्षमा ४६ हजार रूपैयाँ खर्च पनि पाउनेछन् । छात्रावासको व्यवस्थासमेत सीटीईभीटीले नै गरिदिनेछ ।
सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ स्थानीय तह, दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गरी यस छात्रवृत्तिका लागि आवेदन खुलाएको छ । आवेदन दिन पनि पैसा लाग्ने छैन । सूचना अधिकारी एकराज अधिकारीका अनुसार यस प्राविधिक शिक्षामा २२ वटा जातजातिका ३६० जना र ७८ वटा स्थानीय तहका १२० जना विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । जातजातिका लागि तोकिएको ३६० जनाको कोटामा दलित १११, मुस्लिम ४६, विपन्न १६७ र सीमान्तकृत ३६ जनाले छात्रवृत्ति पाउनेछन् ।
छात्रवृत्तिमा १८ महिनाको प्रि-डिप्लोमा र ३ वर्षको डिप्लोमा कोर्सका कार्यक्रम समावेश छन् । प्रि-डिप्लोमाको १८ महिने कोर्स एसईईमा नन् ग्रेडेड विद्यार्थीले पनि पढ्न पाउँछन् । गत वर्षसम्म परीक्षा दिएर मात्र छात्रवृत्तिको लागि विद्यार्थी छनोट गरिन्थ्यो भने यसपालि विद्यार्थीले घरमै बसेर अनलाइनबाट छात्रवृत्तिको लागि आवेदन भरेपछि पुग्छ । आवेदकले आफूले एसईई\एसएलसीमा ल्याएको अंक राख्नुपर्ने हुन्छ । मुख्यतः यसकै आधारमा विद्यार्थी छनोट हुन्छन् । यसमा तोकिएका मापदण्डभित्रका व्यक्ति निजी वा सरकारी कुनैपनि विद्यालयका विद्यार्थी भए पनि आवेदन भर्न सक्छन् । आवेदन फारम आइतबारबाट खुलिसकेको छ ।
यी कार्यक्रम नेपालका ६ वटा कलेजमा सञ्चालनमा छन् । इलामको रत्न कुमारी बान्तवा बहुप्राविधिक शिक्षालय पर्दछ । यस शिक्षालयमा प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) कार्यक्रममा अध्यापन गराइन्छ । महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालयमा प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी अध्ययन गराइन्छ । माडी चितवनको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, दाङको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय, जुम्लाको कर्णाली प्राविधिक शिक्षालय र दीपायल डोटीको सेती प्राविधिक शिक्षालयमा पनि प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) पढाइन्छ । यी बाहेकका अन्य कार्यक्रम भने परिषद्को प्राविधिक महाशाखाले शिक्षालय तोकेर भर्नाका लागि कलेजमा सिफारिस पठाउने गर्छ ।
कुन कार्यक्रम कति छात्रवृत्ति ?
३ वर्षे डिप्लोमा, कुल छात्रवृत्ति संख्या ४३०
३ वर्षे डिप्लोमातर्फ तोकिएका स्थानीय तहबाट १०६ जनाले छात्रवृत्ति पाउँछन् । यो कोटा प्राविधिक शिक्षा नपुगेका स्थानीय तहका विद्यार्थीको लागि छुट्याइएको हो । प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) को लागि कोसीमा १४, मधेसमा ११, बागमतीमा ६, गण्डकीमा ८, लुम्बिनीमा ३, कर्णालीमा ४ र सुदूरपश्चिममा २ जना गरी ४८ जनाका लागि कोटा छात्रवृत्तिका लागि छुट्याइएको छ ।
प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको लागि कोसीमा २, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १-१ जना गरी जम्मा ८ जनाको कोटा छुट्याइएको छ । होटल म्यानेजमेन्टतर्फ कोसीमा ३, मधेसमा २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १-१ जना गरी समग्रमा १० जनाले यस खालको पूर्ण छात्रवृत्तिमा पढ्न पाउनेछन् । डिप्लोमा इन एग्रिकल्चर अन्तर्गत प्लान्ट साइन्स र एनिमल साइन्स गरी २ वटा कार्यक्रम छन् । ती प्रत्येक कार्यक्रममा कोसी प्रदेशबाट ३, मधेसका २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १-१ जना गरी जम्मा १० जनाले छात्रवृत्ति पाउने तय भएको छ ।
यसैगरी सिभिल इन्जिनियरिङ र अटो मोबाइल इन्जिनियरिङको लागि १०–१० जनाको कोटा छ । ती प्रत्येक कार्यक्रममा कोसी प्रदेशबाट ३, मधेसबाट २, बागमती, गण्डकी, लुम्बीनी, कर्णाली र सुदूरपश्चिमबाट १-१ जनाका दरले छात्रवृत्ति पाउनेछन् ।
कुनकुन स्थानीय तहका विद्यार्थी सहभागी हुन पाउँछन् ? हेर्नुहोस् यो सूचना।
समुदायगत छात्रवृत्तितर्फ, ३ वर्षे डिप्लोमा ३२४ जनाले अवसर पाउँछन् । दलित, मुस्लिम, विपन्न, सीमान्तकृत समुदायअन्तर्गत २२ वटा जातिका लागि प्रमाणपत्र तह सामान्य चिकित्साको लागि १५२ जनाको कोटा छ । यसअन्तर्गत दलित ४७, मुस्लिम १९, विपन्न ७१ र सीमान्तकृत १५ छन् । प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको लागि दलित ७ जना, मुस्लिम ३, विपन्न १० र सीमान्तकृत २ गरी जम्मा २२ जनाको कोटा छुट्याइएको छ । यसैगरी होटल म्यानेजमेन्ट, एग्रिकल्चर (प्लान्ट साइन्स) एग्रिकल्चर (एनिमल साइन्स), सिभिल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङमा दलित ९ जना, मुस्लिम ४, विपन्न १४ र सीमान्तकृत ३ गरी ३०-३० जनाको कोटा छुट्याइएको छ । यी सबै जोड्दा १५० हुन्छ ।
कुनकुन समुदायका विद्यार्थी सहभागी हुन पाउँछन् ? हेर्नुहोस् यो सूचना।
१८ महिने प्रि–डिप्लोमा
प्रि-डिप्लोमातर्फ कुल ५० जनाले यो विशेष छात्रवृत्ति पाउँछन् । यीमध्ये तोकिएका स्थानीय तहतर्फ १४ जना र तोकिएका जातीय समुदायबाट ३६ जनाका लागि यसको कोटा छुट्याइएको छ । प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र प्रि-डिप्लोमा इन एग्रिकल्चर (लाइभस्टक प्रोडक्सन र एनिमल हेल्थ) को लागि हरेक प्रदेशका १-१ जना गरी समग्रमा ७-७ जनाका दरले जम्मा १४ जनाको कोटा छुट्याइएको छ । यसमा तोकिएका ७८ स्थानीय तहका विद्यार्थी सहभागी हुन पाउँछन् ।
त्यस्तै प्रि-डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र प्रि-डिप्लोमा इन एग्रिकल्चर (लाइभस्टक प्रोडक्स, एनिमल हेल्थ) मा दलित ६ जना, मुस्लिम २, विपन्न ८ र सीमान्तकृत २ गरी जम्मा १८-१८ जनाका दरले ३६ जनाको कोटा छुट्याइएको छ । यसमा तोकिएका २२ वटा जाति एवं समुदायका विद्यार्थी सहभागी हुन पाउँछन् ।
आवेदन दिन न्यूनतम योग्यता
अक्षरांक पद्धति लागू हुनुपूर्वका प्रवेशिका परीक्षाको हकमा डिप्लोमा/प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनुपर्छ । परिषद्बाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एसएलसी वा प्रि–डिप्लोमा तहको पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्छ ।
त्यसैगरी अक्षरांक पद्धति लागू भइसकेपछिको प्रवेशिका परीक्षा (एसईई) को हकमा सामान्य चिकित्सा र मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रमको लागि अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिएको हुनुपर्छ । जसमा कम्तीमा २.० जीपीए ल्याएको हुनुपर्छ । एसएलसी\प्रि-डिप्लोमा गरेका विद्यार्थीले पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्छ ।
डिप्लोमा/प्रमाणपत्र तहका स्वास्थ्यबाहेक अन्य कार्यक्रमको लागि भने मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिएको हुनुपर्छ । जसमा समग्रमा न्यूनतम स्वीकृत अंक १.६ जीपीए ल्याएको हुनुपर्छ । एसएलसी\प्रि-डिप्लोमा तह उत्तीर्ण गरेको विद्यार्थीले कुल पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्छ ।
आवेदन भर्दा आवश्यक कागजात
अनलाइन आवेदन फाराम भर्दा नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि स्क्यान गरी राख्नुपर्छ । एसईई, एसएलसी वा सोसरह उत्तीर्ण गरेको मार्कसिट र क्यारेक्टर सर्टिफिकेटको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्छ । तर २९ महिने प्राविधिक एसएलसी गरेका विद्यार्थीको हकमा टेस्ट परीक्षाको लब्धांकपत्र पेस गर्नुपर्ने हुन्छ । हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, यदि बसाइसराइ गरेको छ भने सूचना प्रकाशन भएको मितिभन्दा ६ महिनाअगाडि बसाइसराइ गरिएको स्थानीय निकायको पत्र अनिवार्य रुपमा पेस गर्नुपर्छ । दलितको हकमा आफू दलित प्रमाणित हुने कागजात पेस गर्नुपर्ने हुन्छ ।
सीमान्तकृत समुदायको छात्रवृत्ति प्राप्त गर्न नेपाल सरकारबाट सूचीकृत २२ वटा आदिवासी जनजाति समूहमा पर्छ भनेर सम्बन्धित स्थानीय तहको पत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्छ । मुस्लिम व्यक्तिले आफूलाई प्रमाणित गर्ने कागजात पेस गर्नुपर्ने हुन्छ । यसैगरी विपन्न वर्गको छात्रवृत्तिका लागि पनि स्थानीय तहले विपन्न वर्गको भनी सिफारिस गरेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ ।
छनोट प्रक्रिया
यो छात्रवृत्ति प्राप्त गर्ने मुख्य आधार एसईई परीक्षामा प्राप्त ग्रेड हुन्छ । एसईईको अंक र सरकारी वा सामुदायिक विद्यालयबाट एसईई वा एसएलसी उत्तीर्ण भएकोलाई अंकभारवापत १ अंक दिइन्छ । संस्थागत विद्यालयबाट उत्तीर्ण भएका आवेदकलाई थप अंकभारवापत ०.८५ बमोजिमको अंक दिइन्छ । अन्त्यमा समग्र अंकलाई जोडी उच्च अंक प्राप्त गर्ने आवेदकको योग्यताक्रम निर्धारण गरिन्छ । ७८ वटा पालिकाहरूमा स्थायी बसोवास गर्ने लक्षित विद्यार्थीको प्रदेशअनुसारको कुनै कार्यक्रममा निर्धारित कोटा खाली भएमा अन्य कार्यक्रम वा प्रदेशबाट आवेदन भरी उत्तीर्ण सूचीमा रहेका आवेदकहरूमध्येबाट उच्चतम अंक प्राप्त गर्ने छानिन्छन् ।
पढाइ कहिलेबाट हुन्छ ?
भर्ना भएका आवेदकलाई परिषद्को भर्नासम्बन्धी निर्देशिका, २०८२ बमोजिम विद्यार्थी भर्ना तथा रजिस्ट्रेसनको समयावधि २०८२ मंसिर २५ गतेसम्म तोकिएको छ । त्यसैले शिक्षण संस्थाले रजिस्ट्रेसन फाराम भराई सीटीईभीटीको अनलाइन प्रणाली आईटीएमएसमा नाम दर्ता गरिसक्नुपर्छ । भर्ना भएका विद्यार्थीको कक्षा सञ्चालन भदौको तेस्रो हप्तादेखि हुने सीटीईभीटीले सूचनामा उल्लेख गरेको छ ।
छात्रवृत्तिमा विद्यार्थीले के-कस्ता सुविधा पाउँछन् ?
छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई निर्वाह भत्तावापत् हरेक महिना ३ हजार ५०० रुपैयाँ वितरण गरिन्छ । यसैगरी यातायात खर्चको लागि हरेक वर्ष १ हजार ५०० रुपैयाँ र पेसाक खर्चको लागि प्रतिवर्ष २ हजार ५०० रुपैयाँ दिइन्छ। यो सबै रकम जोड्दा विद्यार्थीले पाउने वार्षिक रकम ४६ हजार रूपैयाँ हुन्छ । यसका साथै विद्यार्थीलाई प्रशिक्षण अवधिभरका लागि निःशुल्क छात्रावासको व्यवस्था सीटीईभीटीले नै गरिदिनेछ । छात्रवृत्तिको आवेदन साउन ११ गतेदेखि २९ गते बिहीबार राति ११:५९ सम्म अनलाइनमा भर्न सकिने सीटीईभीटीले जनाएको छ ।
– आयुषा ढकाल nepalkhabar.com बाट साभार
वि.सं.२०८२ साउन ११ आइतवार १६:०१




















