आफ्नै रेकर्ड तोड्दै कामीरिता ३१औं पटक सगरमाथाको शिखरमा
वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:३४
1.1K
shares
काठमाडौं: सगरमाथा आरोही कामीरिता शेर्पाले आफ्नै किर्तिमानी रेकर्ड तोडेका छन् । उनले यसअघि बनाएको आफ्नै रेकर्ड तोडेका हुन् । रेकर्ड तोडिएसँगै उनले नयाँ विश्व रेकर्डसमेत बनाएका छन् । गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९औं पटक अनि १० दिनपछि ०८१ जेठ ९ गते ३०औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।
‘एभरेष्ट म्यानले फेरि गर्यो चमत्कार, ३१औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’ उनका अनुसार कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए ।
उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।
वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:३४




















