गौतमबुद्ध क्रिकेट रंगशला निर्माणको प्रथम चरणका लागि बागमती प्रदेश सरकारले करिब ५२ करोड रुपैयाँ लगानी गर्ने
वि.सं.२०८० माघ २३ मंगलवार १४:१३
2K
shares
काठमाडौं: चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशला निर्माणको प्रथम चरणका लागि बागमती प्रदेश सरकारले करिब ५२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ । मंगलबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले उक्त लगानी गर्ने निर्णय गरेको हो ।
रंगशाला निर्माणका लागि प्रथम चरणमा ७५ करोड रुपेयाँ बराबरको लागत अनुमान गरिएको छ । जसको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने भएको हो । बागमती प्रदेशले ७५ करोडको ७० प्रतिशत अर्थात करिब ५२ करोड रुपैयाँको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताए ।
यसअघि संघीय सरकारले गत पुसमा बागमती सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो । अब उक्त रंगशाला संयुक्त लगानीमा बन्ने निश्चित भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि लिज ऐनअन्तर्गत जग्गा लिनुपर्ने भएपछि मन्त्रिपरिषद्को बैठकबाट सहमति दिइएको थियो ।
त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउँदैछ । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड बराबरको काम गर्ने गरी सहमति गरेको थियो । पहिलो चरणमा खेल मैदान र प्यारापिट तयार गरेर खेल्न मिल्ने बनाइँदैछ । प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्ने भएपछि बाँकी रकम अब संघीय सरकारको अनुदान लिने तयारी भएको छ। अपुग रकम भरतपुर महानगरपालिकाले थप गरी रंगशाला बनाउनेछ ।
प्रदेश सरकारको बजेट सुनिश्चितसँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने भएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेपछि दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसयता रंगशाला अलपत्रमा छ ।
वि.सं.२०८० माघ २३ मंगलवार १४:१३




















