फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो फिफा विश्वकप च्याम्पियन
वि.सं.२०७९ पुस ४ सोमवार ०१:४१
2.5K
shares
काठमाडौं: साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ ।
निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछिको खेल पनि ३-३ को बराबरीमा सकिएपछि अर्जेन्टिनाले फ्रन्समाथि टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै तेस्रो पटक विश्वकप जित्न सफल भएको हो । अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।
फ्रान्सले भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी उचालेको थियो ।
आईतबार राति लुसिल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।
फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे भने किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।
त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । खेलको २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३६औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाए । तर, दोस्रो हाफमा एमबाप्पे चम्किदा फ्रान्सले पुनरागमन गर्यो । ८०औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याए ।
अर्जेन्टिनाका निकोलस ओटामेन्डीले राण्डल कोलो मुवानीले पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले सहज गोल गरे ।
लगत्तै खेलको ८१औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याए । अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो ।
खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुन: ३-२ को अग्रता दिलाए । तर, खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।
अर्जेन्टिनाका गोन्जालोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो ।

वि.सं.२०७९ पुस ४ सोमवार ०१:४१



















