समानुपातिक तर्फ नेकपा एमालेलाई अग्रता, नेपाली कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा
वि.सं.२०७९ मंसिर ६ मंगलवार १२:५२
4.6K
shares
काठमाडौं: प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना जारी छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ । एमालेले ४५ हजार ८२९ मत कटाएको छ । अर्थात् एमाले २९.९ मतका साथ अघिल्लो स्थानमा छ ।
त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसको मत ४० हजार ४४० छ । जुन २६.३ प्रतिशत हुन आउँछ ।
समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ । स्वतन्त्र पार्टीले १८ हजार ७४९ मत प्राप्त गरेको छ । जुन १२.२ प्रतिशत हुन आउँछ ।
स्वतन्त्र पार्टीले प्राप्त गरेको मत कांग्रेस र एमालेको मतको आधा भन्दा कम छ । अर्कोतर्फ स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । माओवादी केन्द्रले १७ हजार ६४५ मत प्राप्त गरेको छ । माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ ।
राप्रपाले ९ हजार ८६, जसपा नेपालले ३ हजार ३२२, जनमत पार्टीले ३ हजार १०१, नेमकिपाले २ हजार ९१६, एकीकृत समाजवादीको २ हजार ९०, लोसपा नेपालको १ हजार ८१९ र अन्य दल सबैले प्राप्त गरेको मत ८ हजार ४८१ छ ।
हालको राजनीतिक दल सम्बन्धी ऐन अनुसार समानुपातिकतर्फ सिट सुरक्षित गर्न कुनै पनि दलले ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ । अहिलेको मतगणनाको रूझान हेर्दा माओवादीपछि राप्रपाले मात्र ३ प्रतिशत मत कटाएको छ । राप्रपाको ५.९ प्रतिशत मत छ ।
प्रतिनिधि सभाका लागि ११० सिटको बाँडफाँट समानुपातिकतर्फको यही मतका आधारमा हुनेछ । सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकमा सिट पाउने छन् ।
वि.सं.२०७९ मंसिर ६ मंगलवार १२:५२



















