आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ २०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश
वि.सं.२०७८ माघ १३ बिहीवार १७:४१
2.3K
shares
काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।
खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा भने मनाङले बाजी मार्यो ।
पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे ।
विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे ।
दिपक गुरुङको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।
खेलको पहिलो हाफमा खेलको ९औं मिनेटमा प्राप्त पेनाल्टीमा मनाङका कप्तान विमल राना पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
आर्मीका डिफेन्डर युद्द शाहीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
जितसँगै अब मनाङले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।
यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार १७:४१




















