नक्कली भ्याट बिल बनाई कर छलीको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर
वि.सं.२०७८ पुस २० मंगलवार १६:४४
2.4K
shares
काठमाडौं: राजस्व अनुसन्धान विभागले एक अर्ब २० करोड रुपैयाँ कर छलीको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका-१ नर्सरी चोकको आनसान इन्टरनेशनल कम्पनीका ४ जना सञ्चालकहरू शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल र सान्टु ढकाल तथा लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रमुख राजेश्वर श्रेष्ठविरुद्ध विभागले कर छलीको मुद्दा दर्ता गरेको हो ।
उनीहरूले नक्कली तथा झुटा भ्याट बिल र अन्य वित्तीय विवरण तयार गरेर तिर्नुपर्ने कर नतिरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
उनीहरूले भ्याटतर्फ ४२ करोड २६ लाख रुपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख रुपैयाँ र लाभांशतर्फ नौ करोड ७४ लाख रुपैयाँ गरी एक अर्ब २० करोड ४९ लाख रुपैयाँ छर छलेको देखिएको विभागको दाबी छ ।
एक अर्ब २० करोड ४९ लाख रुपैयाँको दोब्बर हुन आउने दुई अर्ब ४० करोड ९८ लाख रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
वि.सं.२०७८ पुस २० मंगलवार १६:४४




















