नेपालमा कुखुराको मासुको मूल्य साढे ४ सय पुग्यो
वि.सं.२०७८ वैशाख ८ बुधवार १५:४६
3.5K
shares
काठमाडौं: नेपालमा कुखुराको मासुको मूल्य साढे ४ सय पुगेको छ । अहिले किसानको खोरदेखि उपभोक्तासम्म पुग्दा नेपालमा कुखुराको मासुको मूल्य इतिहासकै महँगो भएको हो ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार हाल काठमाडौंमा प्रतिकेजी बोइलर कुखुराको मूल्य ४ सय ३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । उपभोक्ताहरुले प्रतिकेजी कुखुराको मूल्य साढे ४ सयभन्दा बढी पनि तिर्नु पर्ने अवस्था छ ।
संघले गत आइतबार बेलुकीबाट लागू हुने गरी कुखुराको मासुको प्रतिकेजी ४ सय ३० रुपैयाँ निर्धारण गरेको थियो । जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
संघको आइतबार बसेको बैठकले जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ तोकेको थियो । बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्य बढेको संघको भनाई छ ।
देशभरमा सबैभन्दा धेरै कुखुराको मासु काठमाडौंमा खपत हुने गर्दछ । काठमाडौंमा दैनिक साढे दुई लाख किलो तयारी मासुको आवश्यकता पर्दछ । यस अघि देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवं खपत हुँदै आएपनि अहिले उत्पादनमा ४० प्रतिशतसम्मले ह्रास आएको संघको दाबी छ ।
किसानले बिक्री गरेको मूल्यमा प्रतिकिलो १ सय रुपैयाँ बढीमा उपभोक्ताले कुखुराको मासु खरिद गर्न पाउने चल्ला, दाना, कुखुरा र कोल्ड स्टोर व्यवसायीबीच भद्र सहमति भएको छ। तर, अहिले किसानले बेचेभन्दा डेढ सय रुपैयाँ बढी मूल्यमा उपभोक्ता मूल्य तोकिएपछि किसानहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
यो पनि पढ्नुहोस् ;
सभामुख अग्नी सापकोटाविरुद्धको विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइ आज
वि.सं.२०७८ वैशाख ८ बुधवार १५:४६




















