शाइन रेसुंगा बैंकले काठमाडौंमा पाँचवटा नयाँ शाखाको उद्घाटन
वि.सं.२०७७ चैत ९ सोमवार १७:५०
1.5K
shares
काठमाडौं: शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा एकैपटक पाँचवटा नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले आक्रामक शैलीमा नयाँबानेश्वर, कलंकी, न्युरोड, गोंगबु र महाराजगन्जमा शाखा सञ्चालनमा ल्याएको हो ।
बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष स्थानेश्वर पौडेलले आइतबार बानेश्वरको एभरेस्ट होटेलमा आयोजित समारोहका बीच नयाँ शाखाहरूको औपचारिक उद्घाटन गर्नु भयो । योसँगै बैंकको शाखा संख्या ८० पुगेको छ। ।
बैंकको कलंकी शाखा फागुन ५ देखि नै सञ्चालनमा रहेको छ त्यसैगरी, नयाँबानेश्वर र न्युरोडका शाखाले फागुन अन्तिम सातादेखि नै वित्तीय सेवा दिइरहेका छन् । गोंगबु र महारजगन्जका शाखा आइतबारदेखि सञ्चालनमा आएको हो । यी सबै शाखाको औपचारिक उद्घाटन एकैसाथ गरिएको बैंकले जनाएको छ ।
२०६५ फागुन ११ मा रूपन्देहीमा स्थापित शाइन विकास बैंक र गुल्मीको रेसुंगा विकास बैंकबीच मर्जर सम्पन्न भई २०६९ चैत ४ मा शाइन रेसुंगा नामले यो बैंकले एकीकृत कारोबार सुरु गरेको हो ।
बैंकले २०७३ जेठमा प्युठानको गौमुखी विकास बैंक त्यसपछि राष्ट्रियस्तरमा सेवा विस्तार गर्ने क्रममा एकैसाथ रूपन्देहीको पूर्णिमा विकास बैंक र नेपालगन्जको भार्गव विकास बैंकलाई आफूमा गाभ्यो ।
एउटा शाखाबाट सुरु भएको बैंक राष्ट्रियस्तरमा स्तरोन्नति भई ८०औँ शाखामार्फत सेवा दिने अवस्थामा पुग्नुमा बैंकको सञ्चालक समिति, व्यवस्थापन पक्ष, प्रमुख कार्यकारी अधिकृत, कर्मचारीसँगै आम ग्राहक वर्गको समेत उत्तिकै योगदान रहेको बैंकका अध्यक्ष पौडेलले बताउनु भयो ।
शाइन रेसुंगा बैंकले ग्रामीणमुखी बैंकिङलाई महत्त्व दिँदै वित्तीय सेवा दिँदै आएको बताए । बैंकको शाखासञ्जाल सहरी क्षेत्रमा करिब १५ प्रतिशत, अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत रहेको पौडेलले जानकारी दिए ।
बैंकको हाल ग्राहकसंख्या ४ लाखभन्दा बढी रहेको छ । प्रतिवर्ष लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको बैंकको हालको चुक्तापुँजी करिब ४ अर्ब रहेको छ । बैंकले ३३ अर्बभन्दा बढी निक्षेप संकलन गरेको र ३० अर्बभन्दा बढी कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।
यो पनि पढ्नुहोस् :
मेगा बैंकले गोलभेंडा उत्पादक कृषकहरुलाई कर्जा उपलब्ध गराउने
वि.सं.२०७७ चैत ९ सोमवार १७:५०



















