विदेशबाट फर्कनेहरुले अब होम क्वरेण्टीनमा बस्न पाउने
वि.सं.२०७७ साउन ७ बुधवार ०८:०२
2K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले होम क्वरेण्टीन सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेसँगै विदेशबाट घर फर्किएकाहरु होम क्वरेण्टीनमा बस्न पाउने भएका हुन् ।
कोरोना प्रभावित देशहरुबाट स्वदेश फर्कनेहरुले तोकिएको मापदण्ड पूरा गरी घरमै क्वरेण्टीनमा बस्न चाहेमा पालिकाको सहमति र प्रत्यक्ष निगरानी रहने गरी १४ दिन बस्ने गरी पठाउन सकिने मापदण्ड तयार गरिएको मन्त्रालयका स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
कोरोना महामारीका बेला विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती अहिले विभिन्न चार्टर्ड उडानमार्फत भइरहेको छ । यसरी फर्कनेहरु कि त सम्बन्धित पालिकाको क्वरेण्टीनमा कि त होटल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्ने नियम थियो ।
तर अब होम क्वरेण्टीन सम्बन्धी मापदण्ड पारित भएसँगै विदेशबाट घर फर्कनेहरु आफ्नै घरको एक कोठामा १४ दिनसम्म बस्न सक्नेछन् । मापदण्ड अनुसार कोठा भने हावा खेल्ने र घाम लाग्ने खालको हुनुपर्छ ।
कोरोना सङ्क्रमणको जोखिम कायमै हुने भएकाले चर्पी र नुहाउने ठाउँ छुट्टै भएमा उपयुक्त हुन्छ । तर यदि छैन भने पनि विदेशबाट फर्कने व्यक्तिले प्रयोग गरेको चर्पी सङ्क्रमण हटाउनेगरी सफा गरेपछि मात्र परिवारका अरु सदस्यले प्रयोग गर्नुपर्छ ।
आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चिकित्सक, स्वास्थ्यकर्मी वा नजिकको स्वास्थ्य संस्थामा नियमित जानकारी गराउनपर्ने कुरा मापदण्डमा उल्लेख छ । कोरोनाको जोखिमबाट बच्च भेटभाट वा बोलचालमा दूरी कायम राख्नुपर्छ ।
सकेसम्म विदेशबाट फर्किएर होम क्वरेण्टीनमा बसेका मानिस बाहिर ननिस्कने, नडुल्ने, मास्क लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ ।
मापदण्डमा सम्बन्धित व्यक्तिको घरमा हुनुपर्ने न्यूनतम भौतिक पूर्वाधार, सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यहरुले पालना गर्नुपर्ने व्यवहार तथा कामका बारेमा उल्लेख गरिएको छ ।
वि.सं.२०७७ साउन ७ बुधवार ०८:०२



















