चार महिनापछि हट्यो लकडाउन, भदौ १ देखि अधिकांश क्षेत्र खुल्ने, कुन-कुन क्षेत्र कहिलेबाट खुल्ने विस्तृतमा
वि.सं.२०७७ साउन ६ मंगलवार २२:३२
1.3K
shares
काठमाडौं: नेपालमा कोरोना महामारीका कारण गत चैत ११ गतेबाट देशभर लागु भएको लकडाउन हटेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा लकडाउन हटेको घोषणा गरेका हुन् । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए ।
सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्ड अनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ ।
मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । त्यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरू गर्न दिइने भएको छ ।
सरकारले अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्याएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए ।
छिमेकी मुलुकहरूले कोरोना संक्रमणबाट जोगाउन अपनाइएको नीति अनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए । पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
यसैबीच सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।
यसैबीच सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा स्थगित गरिएका तर, के गर्ने भनेर निर्णय भइनसकेका परीक्षा पनि अब नरोकिने भएका छन् । तर पठनपाठन भने त्यो मितिबाट नहुने बताइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।
वि.सं.२०७७ साउन ६ मंगलवार २२:३२



















