चेपाङ समुदायका घरहरुमा भएको आगजनीप्रति युवा कम्युनिष्ट लिगद्वारा ध्यानाकर्षण गराउँदै विज्ञप्ती जारी
वि.सं.२०७७ साउन ५ सोमवार १८:५४
1.8K
shares
काठमाडौं: नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र माडी नगरपालिका–९ कुसुमखोलामा रहेको चेपाङ समुदायका घरहरुमा चितवन राष्ट्रिय निकुञ्जले पूर्व सूचना विना आगजनी गरेकोमा युवा कम्युनिष्ट लिग केन्द्रीयले गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्ती निकालेको छ ।
विपन्न चेपाङ सुकुम्बासी जनतामाथि कुनैपनि पूर्व सूचना बिना निकुञ्ज प्रशासनबाट भएको क्रुर र अमानवीय ज्यादतीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ- “निरन्तर झरी, बाढीपहिरोको जोखिम तथा कोरोना भाइरसबाट विश्वले नै संकट झेलिरहेको यो बेला जनताको उचित व्यवस्थापन बिना मध्यराती हात्ती लगाएर घर भत्काउने र जलाउने जस्तो न्यूनतम मानवीयताबाट पनि च्यूत निकृष्ट काम अरु के हुन सक्छ ? यो अपराधमा संलग्न निकुञ्ज प्रशानका अपराधीहरुलाई हदैसम्मको कारवाहीका लागि जोडदार माग गर्दछ ।”
कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईको हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ- “घरबार गुमाएर बिचल्लीमा परेका पीडित चेपाङ समुदायको उचित व्यवस्थापनको लागि सम्बन्धित निकाय र सरकार समक्ष ध्यानाकर्षण गराउन चाहान्छौ ।”
वि.सं.२०७७ साउन ५ सोमवार १८:५४




















