नेकपा स्थायी कमिटी बैठक आज बस्दै, विवाद बढ्दै गएपछि ओली रणनीति बनाउँदै, प्रचण्ड-नेपाल समूह दबाब बढाउँदै
वि.सं.२०७७ असार १८ बिहीवार ०८:३८
1.1K
shares
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ । मंगलबार र बुधबार बसेको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका थिए । पछिल्लो पटक प्रधानमन्त्री ओलीले भारतीय राज्य संयन्त्र र केही नेताहरू लागेको अभिव्यक्ति दिएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ ।
नेकपाभित्रको आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न विकल्पको खोजीमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीतिमा जुटेका छन् ।
पार्टीभित्रैबाट राजीनामा माग भएपछि ओलीले आफू निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् । बुधबार उनले बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग छलफल गरेका थिए । दिउँसो पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग पनि परामर्श लिएका थिए ।
स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले आफ्नो राजीनामा मागेपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन् । पार्टी भित्रबाट प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न दबाब दिए पनि उनी दुवै पद नछाड्ने अडानमा छन् । आफूमाथि दबाब बढ्दै जाँदा ओलीले विभिन्न विकल्पबारे तयारी गरिरहेको नेकपाका नेताहरुले बताएका छन् ।
संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्याएर सरकार नछाड्ने विकल्प ओलीसँग छ ।
प्रधानमन्त्री ओलीले विभिन्न विकल्पबारे परामर्श गरिरहँदा प्रचण्ड–नेपाल समूहले ओलीमाथि दबाब बनाउने रणनीति लिएको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ । यो समूहको बुधबार साँझ ललितपुरमा भएको भोलाले विधान अनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको छ ।
पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ । नेकपाको सचिवालय र स्थायी कमिटीसँगै केन्द्रीय समितिमा पनि ओली अल्पमतमा छन् । सचिवालयका नौ मध्ये ६ र स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य ओलीको विपक्षमा छन् ।
वि.सं.२०७७ असार १८ बिहीवार ०८:३८




















