बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखको सहज जित
वि.सं.२०७७ असार ७ आइतवार १०:४५
1.2K
shares
एजेन्सीः बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले फ्राइबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै जोसुवा किमिचले एक गोल गरे ।
फ्राइबर्गका लुकास होइलरले एक गोल फर्काए । दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नले खेलको १५औं मिनेटमा किमिचको गोलबाट अग्रता बनाएको थियो । खेलको २४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । ३३ औं मिनेटमा लुकासले गोल गर्दै फ्राइबर्गलाई २-१ को स्थितिमा ल्याए । खेलको ३७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै बायर्नले ३३ खेलबाट ७९ अंक जोडेको छ । बायर्नको यो लगातार १५ औं जित हो । बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १० अंकले अघि रहेको छ । ४५ अंक जोडेको फ्राइबर्ग आठौं स्थानमा रहेको छ ।
वि.सं.२०७७ असार ७ आइतवार १०:४५




















