मधेसी आयोगद्वारा एन्फा अध्यक्षलाई विवादास्पद अभिव्यक्ति नदोहोर्याउन सचेत
वि.सं.२०७७ जेठ २८ बुधवार ०९:४८
1.3K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई विवादास्पद अभिव्यक्ति नदोहोर्याउन मधेसी आयोगले सचेत गराएको छ । आयोगले मंगलबार एक विज्ञप्ति निकाल्दै मधेशमा राष्ट्रियताको कमी रहेको भन्ने आपत्तिजनक अभिव्यक्ति दिएको र आगामी दिनमा नदोहोर्याउन सचेत गराईएको जनाएको छ ।
आयोगले अध्यक्षको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको तर उनले अन्तर्वार्तामा बोलेको कुरामा आत्मालोचना गरेको जनाएको छ । ‘उहाँले अन्तर्वार्तामा बोलेको अभिव्यक्ति प्रति आत्मालोचना गर्दै खेल भावना बाहेक कुनै क्षेत्र, प्रदेश र भूगोललाई होच्याउने र नकारात्मक सन्देश प्रबाह गर्न खोजेको होइन र नेपाली दाजुभाइ तथा दिदीबहिनी एबम त्यस क्षेत्रका नेपालीहरुमा चोट पर्न गएकोमा क्षमायाचना गर्ने प्रतिबद्दतासहित निवेदन दिनु भएकोमा आयोग सकारात्मक छ,’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘साथै भविष्यमा यस्ता अभिव्यक्ति नदोहोर्याउन आयोगबाट सचेत गराईएको छ ।’
एन्फा अध्यक्ष शेर्पाले एक अन्तरवार्तामा आफु तराईतिर जाँदा राष्ट्रियताको भावना अलि कम भएको बताएपछि विवादित बनेका थिए । विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई मधेसी नेताहरुले निलम्बनको माग समेत गरेका थिए । तर, पछि शेर्पाले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुर्याउन नखोजेको भन्दै माफी मागेका थिए ।

वि.सं.२०७७ जेठ २८ बुधवार ०९:४८




















