आर्थिक वर्ष २०७७/०७८ को बजेट आज सार्वजनिक गरिँदै, युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम बजेटको प्राथमिकतामा
वि.सं.२०७७ जेठ १५ बिहीवार ११:३०
1.8K
shares
काठमाडौं: सरकारले आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे राजश्व र आयको विवरण (बजेट) प्रस्तुत गर्नेछन् ।
नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र यसले ल्याएको आर्थिक मन्दीसँग जुधिरहेका बेला सार्वजनिक हुन लागेको बजेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण प्रभावित भएका उद्योगी व्यवसायीदेखि सर्वसाधारण जनताले बजेटबाट राहतको अपेक्षा गरेका छन् ।
विश्वव्यापी मन्दीका कारण देशको अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने दवावमा सरकार छ । त्यसैले कृषिलाई प्राथमिकता दिएर उत्पादन बढाउने र कृषि उपजको आयात प्रतिस्थापन गर्दै निर्यात गर्ने सरकारको लक्ष्य छ । नीति तथा कार्यक्रममा प्राथमिकतमा राखिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसहित कृषि र रोजगारी लगायतका क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइने छ । यसका लागि कृषकलाई अनुदानदेखि सहुलियत व्याजदरको कर्जा, कृषिको व्यवसायीकरण, बजारीकरण, युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम बजेटको प्राथमिकतामा पर्नेछन् ।
अर्थमन्त्री युवराज खतिवडाले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको र चालू आर्थिक वर्षको लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको छ । आगामी वर्षका लागि खतिवडाले प्रस्तुत गर्ने बजेटको आकार १६ खर्व बराबरको हुने बताइएको छ ।
वि.सं.२०७७ जेठ १५ बिहीवार ११:३०



















