YouTube Link

सर्च पत्रकारिता कहिलेसम्म?

Facebook Link
vision

पछिल्लो समय मुलुकमा सर्च पत्रकारिता निकै मौलाएको छ। खोज पत्रकारिता केन्द्रका कालो धन सम्बन्धी खोजमुलक सामाग्रीले? विल्कुल होइन। सर्च र खोजको अर्थ समान तर काम अलग।

नेपालको धन विदेशी बैंकमा थन्क्याउने र कालो धनलाई नेपाल भित्र्याउने सम्बन्धी खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको खोज रिपोर्टको संसददेखि सडकसम्म चर्चा छ। बौद्धिकताको गच्छे अनुसार सबैले त्यसबारे प्रतिक्रिया जनाईरहेका छन्।

तर, सर्च पत्रकारिताको चर्चा सर्च अभियानमा जुटेका र तीनले चलाएको सर्च अभियानबाट पीडित वर्गमा मात्रै सिमित छ। सर्च पत्रकारिताको नामले नेपालमा केही समयदेखि चोर पत्रकारिता विस्तार हुँदैछ।

अधिकांश अनलाइनका कर्मचारी पत्रकारको काम नै कसले (कुन अनलाईनमा) कुन समाचार हाल्यो भनेर सर्च गर्ने र आफ्नो बनाएर पोष्ट गर्ने रहेको छ।

त्यस्तै अनलाईनमा काम गर्नेले सर्च पत्रकारिता भन्ने गरेका छन्। उनीहरूसँग न त आवश्यक जनशक्ति छ, न त भएकामा बौद्धिकता।

कार्यालय पुग्यो। सरसरर्ती नाम चलेका ४/५ वटा अनलाईन हेर्‍यो। कसैको टाउको, कसैको पुच्छर र कसैको बिचको भाग काटकुट गर्‍यो अनि आफ्नो बनाएर पोष्ट गर्‍यो। कतिले त काट्ने जाँगर पनि देखाउदैनन्।

रश्व दीर्घ, पूर्णविराम र कमासम्म जस्ताको तस्तै पोष्ट गर्ने सर्च पत्रकारिता मौलाइरहेको छ।

व्यक्तिपिच्छे जसरी अनलाईन खुलिरहेका छन्। तिनले त्यसैगरी सर्च पत्रकारिता चलाईरहेका छन्। आफूलाई मुलधारकै भन्नेले पनि सर्च पत्रकारिता गरेका दृष्टान्त बेला बेलामा सामाजिक सञ्जालमा आउने गरेका छन्।

तिनीहरूमाथि के कस्तो कारबाही भयो वा भएन त्यो जानकारीमा आउँदैन।

मुलधारका अनलाईनलाई छोडेर अधिकांश अनलाईनले अहिले सर्च पत्रकारिता गरिरहेको भन्न कुनै विज्ञको कोट अनकोट गरिरहनुपर्दैन।

स्वस्थ्य, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धनका लागि खडा गरिएको प्रेस काउन्सिलले आधिकारीक रूपमा दर्तामा आएका अनलाईनको तथ्यांक राख्ला, नियमन गर्ला ,सायद गरिरहेको पनि होला। तर, नियमनको प्रभाव शून्य छ।

अनलाईनको आधिकारीक संख्याले सायदै अर्थ राख्न छाड्यो कि? च्याउ जसरी बजारमा अनलाईन उम्रिएका छन्। कति दर्ता छन् कति दर्ता बिना नै सञ्चालन भईरहेका छन्।

दर्ता बिना सञ्चालन भएकाको नियमन कसरी हुन्छ?

पछिल्लो समय मल्टिमिडियाको प्रचलनमा थपिएको चुनौति हो यूट्यूब च्यानल।

अनलाईन टिभीका नामले चलेका यूट्यूब च्यानलले के गरिरहेका छन्? कस्ता सामाग्री राखिरहेका छन्? अनि कसरी  राखेका छन्? तिनको जनशक्ति, लगानी, दायित्व के हुने?

नाम चलेका टेलिभिजन र नाम चलेका अनलाईनमा कार्यरत पत्रकारले नै अनधिकृत रुपमा यूट्यूब च्यानल चलाईरहेका छन्।

पेज श्रृजना गरे मात्रै पुगेको छ। दर्ता गर्नु पनि परेन। जिम्मेवार हुनु पनि परेन। अनि अपलोड भएका सामग्रीको स्रोत उल्लेख गर्नु पनि परेन।

निजी क्षेत्रको समाचार सेवा प्रदायक संस्थाको जिम्मेवार व्यक्तिको हैसियतले पर्याप्त अध्ययनपछि केही तथ्यगत विषय सार्वजनिक गर्दैछु।

केही समय अघिदेखि हामी मल्टिमिडिया सञ्चालन गर्नेका लागि सामाग्री (समाचार) उत्पादन र बिक्रि गर्दे आईरहेका छौ। जहाँ स्कृप्टदेखि भिडियोसम्म पर्छ।

हाम्रो अध्ययनका क्रममा आधा दर्जन बढी यूट्यूब च्यानल नाम चलेका टेलिभिजन र अनलाईनमा कार्यरत पत्रकारबाटै सञ्चालन भईरहेको फेला परेको छ।

तिनले आफू कार्यरत संस्थाले बाहिरबाट उत्पादन गर्ने र आफैंले उत्पादन गर्ने भिडियो सामाग्री नै प्रयोग गरिरहेका छन्।

एउटै मान्छे सधैं एकै जिम्मेवारीमा वा जागिरे मात्रै हुनुपर्छ भन्ने होइन। त्यसबाहेक ऊ कयौं व्यापारिक कार्यमा जोडिन सक्छ, तर बैधानिक रूपमा।

जुन संस्थामा जागिरे छ उसैप्रति गद्यारी गरि, उसैले उत्पादन गरेका सामाग्री प्रयोग गरेर भिन्नै व्यवसाय गर्नुलाई के भन्ने?

भण्डारमा चोर राखेर घर चल्दैन। त्यो चोरले छिमेकीको भण्डारसमेत रित्तो बनाईदिन्छ।

एउटा सञ्चार गृहको कामदार भएर डेक्समा बसी बसी अन्य अनलाईनलाई समाचार दिने काम पनि केही पत्रकारबाट हुँदै आएको पत्ता लगाएका छौं।

आवश्यकता महसुस गरेमा ती तथ्यांकलाई सार्वजनिक गरिनेछ। अहिलेलाई आफैंले काम गरेको संस्थाबाट उत्पादन भएका भिडियो सामाग्रीको अनधिकृत प्रयोग गरि पेज चलाईरहेका भिडियो चोरहरूसँग न्यूज एजेन्सीले गरेको संवाद।

यहाँ उनीहरू कार्यरत संस्थाको नाम पेज गोप्य राखिएको छ। तर, सबै रेकर्ड एजेन्सीसँग सुरक्षित छ।

प्रसंग एक

भिडियो चोर: नमस्कार।

एजेन्सी: नमस्ते। को बोल्नुभो?

भिडियो चोर: म ………फलानो टिभिबाट हो।

एजेन्सी: को बोल्नुभयो सर?

भिडियो चोर: म ……हो। के भिडियो,  के भन्दै हुनुहुन्थ्यो हाम्रो स्टाफले।

एजेन्सी: तपाईँको स्टाफले होइन तपाईँलाई नै हो। तपाईँले भिडियो मिस यूज गर्नुभएछ होइन?

भिडियो चोर: हजुर हजुर।

एजेन्सी: के गर्नु हुन्थ्यो के गर्नु हुन्थेन, पत्रकारै भईसकेपछि तपाईँले बुझ्नुपथ्र्यो होइन ?

भिडियो चोर: अँ।

एजेन्सी: किन मिस यूज गर्नु भो भनेर म सोध्दिनँ। तपाईँले मिस यूज गरेका कारण सम्भवतः टेलिभिजनलाई मैले समाचार पठाउदिन होला।

भिडियो चोर: हा हा। वेपरवाह हाँसो।

एजेन्सी: भण्डारमा चोर राखेर घर चल्दैन, कुरा यही हो। ….जी।

भिडियो चोर: होइन सर, म भिडियो हटाईदिउला नि। सर मलाई थाहा भएन।

एजेन्सी: होइन सर, मलाई जानकारी भएन। थाहा भएन भन्ने कुरै हुँदैन। यस्तो इफ बट हुँदैन सर। व्यवसायीक काममा मोलाहिजा हुँदैन। व्यवसायिक काममा कि तपाईँ छैन कि म छैन। यसमा इफ बट भन्ने नै हुँदैन। त्यसमा केही एक्सक्यूज हुँदैन सर।

भिडियो चोर: यूट्यूबको मामलामा जानकारी भएन सर।

एजेन्सी: यूट्यूबको मामलामा होइन तपाईँको टिभीमा टिभीले किनेको भिडियो तपाईँले युज गर्नु हुन्छ कि हुँदैन भन्ने कुरा चाही बुझिन्छ। त्यत्ति बुझिन्छ कि बुझिदैन भन्नु न।

भिडियो चोर: ल सर।

प्रसंग दुई

एजेन्सी:  यूट्यूब च्यानलको नाम लिएर …. भन्ने पेज तिम्रो हो?

भिडियो चोर: हँ (एकैछिन अनकनाएर) त्यहाँ साथीहरूले चलाउनुहुन्छ त्यहाँबाट।

एजेन्सी:  भनेको?

भिडियो चोर: हाम्रो साथीहरु छन्। चलाउनुहुन्छ त्यहाँबाट।

एजेन्सी: भनेको कहाँबाट?

भिडियो चोर: साथीहरूले चलाउँछन्।

एजेन्सी:: त्यसमा भिडियो कहाबाट आउँछ?

भिडियो चोर: भिडियो चाहिँ मिडियाका साथीहरूले हाल्नुहुन्छ?

एजेन्सी:  मैले सिरियस्ली सोधेको हो है, त्यहाँ केही मैले मात्रै खिचेका भिडियोहरू प्रयोग भएको छ। त्यसैले मैले त्यो भिडियो कहाँबाट आयो भनेर सोध्न फोन गरेको हो। को साथी हो ? तिम्रो त होइन नि?

भिडियो चोर: अँ होइन, मेरा साथीहरू छन्। मैले त होइन, साथीहरूले हाल्नुहुन्छ।

एजेन्सी:  को छन् साथीहरू?

भिडियो चोर: एउटा (अकमकाएर)……साथी छ।

एजेन्सी:  के मा काम गर्ने?

भिडियो चोर: मिडियामा नै हो।

एजेन्सी:  कहाँ केमा?

भिडियो चोर: दाईलाई म भन्छु नि मिडियामा नै हो के दाजु।

एजेन्सी:  होइन होइन, सुन सुन, मेरो भिडियो युज भएको छ के। मैले त फर्मल एक्सन लिनुपर्ने हुन्छ। त्यस कारण तिमीसँग भएको इन्फरमेसन देऊ। मेरो क्लाईण्ट भएको मिडियाको मान्छे रहेछ भने म त्यही अनुसार कुरा गर्छु। होइन भने म त्यही अनुसार एक्सन गर्छु। मेरो भिडियो अनधिकृत यूज भएको भन्ने त मैले पाईसकेँ।

भिडियो चोर: ए भनेसी….अँ ..भिडियो भनेसी (अकमकाए)…मेरो पनि साथी हो। त्यसैले …भिडियो कुन कुन हालेको रहेछ?

एजेन्सी:  धेरै छन्।

भिडियो चोर: ए……. अँ। ल म एकचोटी भन्छु साथीलाई।

एजेन्सी:  एकचोटी भन्ने त चान्स नै छैन।

भिडियो चोर: अँ।

एजेन्सी:  त्यसमा तिमी इन्भल्ब छौ कि छैनौ?

भिडियो चोर: होइन, म नि छ त्यही भएर हो के दाजु। साथीभाई मिलेर गरेको।

एजेन्सी:  त्यसरी अर्काको भिडियो हाल्छन् त?

भिडियो चोर: होइन मिडियाकै साथीहरु भा को ले …..।

एजेन्सी: कुन मिडियाको? तिमी छु पनि भन्छौ अनि साथी को हो पनि भन्दैनौं अनि? को के मा काम गर्ने भन त?

भिडियो चोर: होइन म पनि छु। साथी साथी मिलेर गरेको। ठिकै छ नि त, त्यस्तो भयो भने बरू डिलिट गरिदिन्छु नि एकचोटीलाई छाड्दिनू।

एजेन्सी: व्यवसायमा यस्तो बचपना हुँदैन। तिमी आफैं भिडियो उत्पादन गर्ने मान्छे त होइनौं।

भिडियो चोर: होइन होइन।

एजेन्सी: तिमी कुनै एउटा संस्थामा काम गर्छौ। त्यो संस्थाले भिडियो सम्बन्धि काम गर्छ। अनि त्यो संस्थाको भिडियो अनधिकृत रुपमा तिमीले प्रयोग गर्यौ भने के गर्छ त्यो संस्थाले तिमिलाई?

भिडियो चोर: अँ त्यो त हुँदै हुँदैन।

एजेन्सी: हुँदैन भने, यो पेजमा एउटा मैले मात्रै खिचेको, मैले मात्रै बाईट लिएको भिडियो कसरी गयो?

भिडियो चोर: अँ त्यो पनि हो हुन त। होइन…….कुरा नसकिदै

एजेन्सी: कसरी गयो?

भिडियो चोर: अँ,

एजेन्सी: यसलाई मैले कसरी लिने? हुनदिनु ,छोड्दिनु भनेर लिने कि? के भन्ने? यत्ति भन्देउ म फोन राख्छु।

भिडियो चोर: एकचोटीलाई छोड्दिनू। अब हाल्दैनन् नि।

एजेन्सी: अरू को साथीहरु हो त? कि तिमि मात्रै हो। तिमिले मलाई ढाँटिरहेका छौ।

भिडियो चोर: होइन दुई तीन जना मिलेर गरेका थियौं। मैले यो स्वीकारी सके मिडियाकै साथीहरुलाई किन बद्नाम गराउने भनेर हो।

एजेन्सी: गल्ती गरेर बद्नामको डर हुन्छ यार।

भिडियो चोर: ठिकै छ होइन। मतलब एकचोटीलाई छाड्दिनु होइन बरू, त्यही भन्न खोजेको मैले। दाई सम्झेर भनेको।

एजेन्सी: तिम्ले हेर्छौ? यो भिडियोहरु प्रत्यायोजित व्यवस्थापन समितिको राधेश्याम अधिकारी भएर खिचेको भिडियो, मैले मात्रै खिचेको भिडियो हो। यसपछाडि रामचन्द्र पौडेलको बाईट छ, एउटा  ५० सेकेण्ड भएको , ३० सेकेण्ड भएको, १७ सेकण्ड भएको अनि बाईटहरु छ… ….२ मिनेट ३२ सेकेण्ड भएको छ …..यसको फ्रेम हेर्छौ भने मेरो फ्रेम हो। एउटा मेरो फेसबुक पेजबाट प्रचण्डको डाउनलोड गरेर तिमिहरुले हालेछौं। खैर ठिकै छ, फेसबुकबाट हाल्यौ त्यसलाई मैले केही पनि भनिनँ। अनि त्यस्तै एउटा झडपको फुटेज छ। अनि डिना उपाध्यायको यो भिडियो फुटेज, त्यत्तिखेर बाईट लिने जम्मा हामी दुई जना मात्रै थियौं।

भिडियो चोर: हजुर, हजुर।

एजेन्सी: ऊ कार्यरत टिभिको नाम लिएर …..को हालेको भए पनि तिमीले गलत गर्‍यौं। मैले पठाएको भिडियो हालेको भए पनि पनि तिमिले गलत गर्‍यौं। यस्ता धेरै छन्। यसमा एक्सक्यूज हुने कुरा हुदैन। थ्याक्यू।

भिडियो चोर: हैन, ठिक छ दाजु। होइन .. सुन्नु न सुन्नु। अनि अब ठिकै छ। एकपटकलाई भईहाल्यो दाजु। अफिसतिर पनि भन्न आवश्यक छैन। किन कि…..

एजेन्सी: मैले भन्दिसकेँ। मेरो जीवन यसमा गएको छ म छोड्छु त? तिमीले गल्ती गर्‍यौं। तिमीले पनिस्मेण्ट पाउनै पर्छ। या तिम्रो टिमले गल्ती गर्‍यो।

***

सियो चोर्ने पनि चोर हो र फाली चोर्ने पनि चोर नै। मात्रै चोरीको प्रकृति र परिमाणको आधारमा सजाय फरक होला। तर, चोर त चोर नै हो।

रामको या श्यामको? गीताको या रीताको घर चोरी भयो भन्नु भन्दा पनि चोरी संस्कारको विकास भयो भन्ने चिन्ता हो।

भिडियोलाई मुख्य प्राथमिकतामा राखेर सुरु गरिएको व्यवसाय ५ वर्ष अगाडि अनलाईन पनि सञ्चालन गर्ने एउटा रेडियोलाई समाचार सेवा दिँदा हामीले धेरै पटक छलफल गरेका थियौं।

४ वर्षअघि एउटा अनलाईनसँग सम्झौता गरियो त्यो बाहेक अरूलाई नदिने भनि।

अहिले सम्झँदा आफ्नै सोचलाई हैट कति अदूरदर्शी जस्तो लाग्छ। समयसँगै प्रविधिले फड्को मार्छ। फड्को मार्नु पनि पर्छ। यसले निरन्तरतामा क्रमभंग गर्छ।

प्रविधिले सुविधासहित थुप्रै चुनौति लिएर आउँछ। त्यसलाई कसरी सही व्यवस्थापन गर्ने भन्ने विषय मुख्य हो।

कुनै समय स्कृप्ट कपि पेस्ट हुन्छ भनेर डराउने हामी अहिले प्रमुख सम्पत्ति भिडियोको अनधिकृत प्रयोग कसरी रोक्ने भन्नेमा केन्द्रीत भएका छौं।

हिजो आज दिनहुँ जसो न्युज एजेन्सी नेपालले यस्ता अबैध रुपमा सञ्चालनमा आएका यूट्यूब च्यानल पत्ता लगाईरहेको छ।

सचेत गराउने काम पनि जारी छ। यो हाम्रो परिश्रमको सवाल मात्रै होइन। प्रत्यक्ष र तत्कालका लागि यो परिश्रमको अनधिकृत प्रयोगबाट नोक्सान हामीलाई मात्रै पर्ला तर यसको दीर्घकालिन प्रयोग बढ्दै गयो भने समग्र पेशामाथि कयौ प्रश्न उब्जने छन्।

कपिपेस्टकारीता र भिडियो चोरी कहिलेसम्म? रोक्ने कसले? नेतृत्व कसले लिने ?

‘मूलधारका अनलाइनको न्युज कपी गरेर व्यक्तिको चरित्र हत्या गर्ने वा अफवाह फैलाउने शीर्षक राखेर शेयर गर्ने वेभलाई अनलाइन नभनौं….’ मैले यत्ति मात्रै उदृत गर्न चाहेँ, मूलधारकै अनलाईनमा काम गर्ने पत्रकार मात्रिका पौडेलको फेसबुक स्टाटस।

तात्कालिन परिस्थिति, लक्षित वर्ग र व्यक्त भनाई उहाँको जो जसप्रति थिए यथावत रहुन्।

सवाल एउटै हो कसैको परिश्रम विना मुल्य आफ्नो सम्पत्ति भनेर स्वामित्व लिन मिल्ने कि नमिल्ने? यो बौद्धिकता र परिश्रम चोरीको अपराधको मात्रा कति? सँजायको दायरा कति?

ढिला भईसक्यो। अब पनि मूलधारका अनलाईन र टेलिभिजनले यो समस्या बारे चासो नलिने हो भने यसले बौद्धिकता र परिश्रमलाई जलाएर खाग मात्रै बनाउँदैन पेशागत मर्यादा, जिम्मेवारी वहन र नैतिकताको नाम निसाना मेटाउने छ।

अरूको परिश्रम चोर्दै र बौद्धिकताको नक्कल गर्दे गर्दा ऊ त खोक्रो बन्छ नै नयाँ पुस्तालाई पनि खोक्रो बनाउँछ अनि चोर फटाहा र आपराधिक चरित्रका अस्थिपञ्जरको जत्था श्रृजना गर्छ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...