खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न
वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१
444
shares
रसुवा जिल्लामा गएको हिम पहिरोका कारण भोटेकोशीमा आएको बाढीले निम्त्याएको विपत्तिपछि नेपाल प्रहरी उद्धार, राहत र पुनर्स्थापना कार्यमा उच्चमनोबलका साथ अहोरात्र खटिरहेकै छ । यहीबीचमा सांसद खगेन्द्र सुनार त्यही नेपाल प्रहरीको नेतृत्वविरुद्ध विनाप्रमाण हात धोएर आरोप लगाउन लागिपरेका छन्, जसको सीधा असर ती ‘फिल्ड’ मा खटिएका सकल प्रहरी दर्जाको उच्चमनोबलमा परिरहेको छ ।
सांसदजस्तो गरिमामय पदमा बसेको व्यक्तिले यति तल्लोस्तरमा झरेर राज्यको आन्तरिक शान्ति-सुव्यवस्थाको अग्रणी निकायका प्रमुखको विरुद्ध, त्यो पनि संसद् र सार्वजनिक लेखा समितिजस्तो मर्यादित ठाउँमा किन विनाप्रमाण बोलिरहेका छन् ? नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काम गर्दै जाँदा यदि कहिँ-कतै गल्ती-कमजोरी गरेका छन् भने र प्रमाण पुग्छ भने अनुसन्धान गर्ने, कारबाही प्रक्रिया अगाडि बढाउने निकाय राज्यमा छँदैछन् ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले दूधले नुहाएका पक्कै नहोलान् । बत्तीसै लक्ष्यणयुक्त पनि कोही मानिस हुनै सक्दैन । काम गर्दै जाँदा जान-अञ्जानमा सामान्य गल्ती-कमजोरी भएका छन् भने ‘यहाँ यो गल्ती भयो, सुधार्नुस्’ भनेर सुझाव दिनुलाई सामान्य नै मानिन्छ । तर, मर्यादित ठाउँमा बसेर आन्तरिक शान्ति-सुव्यवस्थाको महत्त्वपूर्ण निकायको प्रमुखलाई विनाप्रमाण ‘यति करोड खाइस्, तैंलेमात्र लाइस्, आधारभूत तहकाले लाउनै पाएनन्, जुत्ता-मोजा पनि तैंलेमात्र लाइस्’ भन्ने संकीर्ण अधिकार सांसद खगेन्द्र सुनारलाई छैनमात्र होइन, त्यसमा स्वार्थमिश्रित गन्ध पनि आउँछ ।
कसैलाई लागेको होला, दानबहादुरलाई हटाउन पाए आफू महानिरीक्षक बन्न पाइन्छ । त्यसो हो भने महानिरीक्षकको फूली दानबहादुरलाई कसैले टीका लगाएर दानमा दिएको होइन, आफ्नो योग्यता, क्षमता र काबिलता प्रदर्शन गरेरै पाएका होलान् । अनि कसैलाई आफू महानिरीक्षक हुन पाए भन्ने लाग्दावित्तिक्कै पाइने पनि होइन । यदि त्यसो हो भने बहालवाला महानिरीक्षकलाई हटाएर उसलाई दिँदा आन्तरिक शान्ति-सुव्यवस्थाको महत्त्वपूर्ण निकायको दीर्घ जीवनमा कस्तो असर पर्ला र त्यहाँ कार्यरत सकल दर्जाको मनोबल कता पुग्ला ?
स्वार्थै-स्वार्थ मिसिएको विनाप्रमाणको बोलीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई ललकारिरहेका सांसद सुनारका छोरा अहिले ६ कक्षामा अध्ययनरत् छन् । विशेष सूत्रका अनुसार गत वैशाखमा आफ्ना छोरालाई ६ कक्षादेखि नेपालगञ्जस्थित प्रहरी विद्यालयमा नि:शुल्क अध्ययनको व्यवस्था मिलाइदिन स्वयं खगेन्द्र र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन (ब्यञ्जनकार) ले नेपाल प्रहरी प्रधान कार्यालयसँग पटक-पटक आग्रह गरेका रहेछन् ।
नेपाल प्रहरी प्रधान कार्यालय यो आग्रहमा सकारात्मक नै भयो । तर, नि:शुल्क अध्ययनका लागि विद्यालय व्यवस्थापनलाई रेकर्ड चाहियो, स्थानीय निकायको सिफारिश पनि हुनुपर्योु । खगेन्द्रका वडा अध्यक्ष नेपाली काङ्ग्रेसबाट निर्वाचित थिए, खगेन्द्रले सिफारिश ल्याउन सकेनन् । अनि नेपाल प्रहरी प्रधान कार्यालय सकारात्मक हुँदाहुँदै पनि खगेन्द्रको स्वार्थ पूरा हुन पाएन । त्यसपछि उनले प्रहरी नेतृत्वविरुद्ध अण्टसण्ट बोल्न शुरु गरेको विगत फेला परेको छ ।
अर्कोतिर खगेन्द्रका पाँचवटा बैंक खातामा लाखौं अमेरिकी डलर आर्जन भएको देखिन्छ । त्यो डलर किन र के प्रयोजनका निम्ति आएको हो ? न सार्वजनिक लेखा समिति खोज्छ, न प्रहरी नै त्यो खोज्न अघि सर्छ । अरुलाई नैतिकताको पाठ पढाउनेले यसको जवाफचाहिँ दिनु नपर्ने ? बैंक खातामा लाखौं अमेरिकी डलर भएको व्यक्ति ‘मेरो छोरालाई नि:शुल्क पढाई दे’ भनेर प्रहरीलाई दबाब दिन्छ भने सक्दै-नसक्ने गरिबका छोराछोरी कता पढ्ने भन्ने सवाल पनि स्वभाविक रुपमा उठ्छ ।
सांसद खगेन्द्र सुनार सार्वजनिक शान्तिविरुद्धको कशुरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतको आदेशले २०८० साल असार ११ गते २० हजार रुपैयाँ धरौटीमा छुटेको, २०८१ साल असार ७ गते सुर्खेतकै मेहेलकुना अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा अदालतमा विचाराधीन रहेको, २०८२ साल कार्तिक १३ गते विद्युतीय कारोबारसम्बन्धी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५० हजार रुपैयाँ धरौटीमा छुटेको विगत चटक्कै बिर्सिएर आफू दुधैले नुहाएको जसरी नेपाल प्रहरीको नेतृत्वविरुद्ध किन खनिइरहेका छन् ?
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कति करोड खाए, खाए कि खाएनन् ? उनी पनि सार्वजनिक पदमा बसेका व्यक्ति हुन् । प्रश्न खगेन्द्रले उठाए, प्रमाण दिन उनी सक्दैनन् । प्रमाण खोजौं, भेटेपछि उनका बारेमा पनि लेखौंला । अनुसन्धान गर्ने, कारबाही प्रक्रिया अगाडि बढाउने निकायले त्यो गर्लान् । तर, विनाप्रमाण सार्वजनिक पदमा बसेको, त्यो पनि आन्तरिक शान्ति-सुव्यवस्थाको प्रमुख जिम्मा लिएको व्यक्तिलाई गरिमामय स्थलबाट बारम्बार ललकारिरहँदा मुलुकको शान्ति-सुव्यवस्थाको अग्रणी निकायमा कस्तो असर पर्ला अनि यी र यस्तै खगेन्द्र प्रवृत्तिका कारण देश-जनताको आशा र भरोषा बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भविष्य कता पुग्ला ? विचारणीय पक्षचाहिँ यो हो ।
(सुरक्षा मामिलाका जानकार देवकोटा वरिष्ठ पत्रकार हुन् ।)
वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१



















