लगातारको वर्षाले देशैभर बाढी पहिरो, विभिन्न राजमार्ग र ग्रामीण सडकहरुमा ठूलो क्षति, नदी किनारका वस्तीहरुमा त्रास
वि.सं.२०७७ साउन ६ मंगलवार ०८:५६
1.7K
shares
काठमाडौं: देशभर अविरल वर्षा र बाढी पहिरोले विभिन्न राजमार्ग, पुल, सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्याएको छ ।
बाढी पहिरोले सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममा बाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ । विभागले सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्याएका सडक मर्मतको काम गरिररहेको भएतापनि पृथ्वी राजमार्ग लगायतका मुख्य सडकहरु खुलाउनै समस्या देखिएको छ ।
सडक विभागका अनुसार काठमाडौं आउजाउ गर्ने मूख्य सडक पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मौवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने पहुँच सडक नै कटान गरेर बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न समय लाग्ने देखिएको हो ।
यसैबीच मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट-घुर्मीखण्ड अबरुद्ध भएको छ । लगातारको वर्षापछि गोलन्जोर १ च्याकुटारबेसिमा गएराती १० बजेतिर गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो ।
सडकमाथिबाट ठुलो पहिरो खसेपछि सडक पुर्णरूपमा ठप्प भएको प्रहरीले जनाएको छ । पहिरोका कारण स्थानीय नेत्रबहादुर सुनुवारको घरमा समेत क्षति पुगेको छ । सुनुवारको परिवारलाई रातीनै सुरक्षित स्थानमा सारिएको स्थानिय गौरव कार्कीले बताए ।
बाढी पहिरोको घटनामा परेर हिजो देशका विभिन्न जिल्लाहरुमा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन ६ मंगलवार ०८:५६




















