ठूला दल कांग्रेस-एमाले एकै ठाउँमा उभिँदा कतै निरङकुशता उब्जन्छ कि भन्ने डर छः नेता डा. शेखर कोईराला
वि.सं.२०८१ साउन ८ मंगलवार १६:२६
582
sharesकाठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले दश वर्षमा संविधानमा पुनरावलोकन, परिमार्जन गर्नुपर्ने बताए । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नेतृत्व चयन भई दुई वर्ष पुरा भएको अवसरमा आयोजित संविधान संशोधन र प्रेस तथा स्वतन्त्रता अभिव्यक्ति विषयक विचार गोष्ठीमा उनले दश वर्षमा संविधान संशोधन गर्ने कुरा विधानमै उल्लेख भएकाले कांग्रेस-एमाले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन ।
यो सँगै भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने उनको भनाई छ । ठूला दल कांग्रेस-एमाले एक ठाउँमा उभिँदा कतै निरङकुशता उब्जन्छ कि भन्ने डर भएकाले मिडियाले यस विषयमा निरन्तर खबरदारी गर्नुपर्ने बताए । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न नसकिने भन्दै उनले हामी संसदबाट सहीलाई सही र गलतलाई गलत हो भन्ने आवाज उठाउने विचार व्यक्त गरे ।
संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउने गरि जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाई छ । संविधान संशोधन गर्ने नाममा पेण्डोरा बक्स त खुल्ने होईन भन्ने डर भएकाले यसमा सचेत रहनुपर्ने डा. कोईरालाको भनाई छ । अहिले मन्त्रीहरु खादा मालामा व्यस्त रहेको भन्दै उनले यस सरकारलाई गल्ती गर्ने र कुनै कमिकमजोरी गर्ने छुट नभएको बताए । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउने गरी काममा लाग्ने यो सरकारको प्राथमिकता रहनुपर्ने उनको भनाई छ । कार्यक्रममा शुभ-कामना दिने क्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लगायतका सहभागी व्यक्तित्वहरुले आ-आफ्नो भनाई राखेका थिए ।
वि.सं.२०८१ साउन ८ मंगलवार १६:२६