किरात समुदायले आज टुँडिखेलमा ष्याँदर पिदार/साकेला मनाउँदै
वि.सं.२०८० पुस २१ शनिवार ०८:२२
3.4K
shares
काठमाडौं: किरात समुदायहरुको राष्ट्रिय महान् चाड सुनुवार जातिको उधौली “ष्याँदर पिदार”, राई जातिको “साकेला”, लिम्बु जातिको “चासोक तङ्नाम”, याक्खा जातिको “चासुवा”, थामी जातिको “भुम्या”, सुरेल जातिको “भुमे” लगायत विभिन्न किरात जातिले विभिन्न नाममा मनाउने राष्ट्रिय किरात चाडको अवसरमा आज काठमाडौंको टुँडिखेलमा उधौली पर्व मनाउने भएका छन् ।
विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका किराँती समुदायले आज बिहान १० बजेदेखि टुँडिखेलमा प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नाच्ने गर्दछन् । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ ।
गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो/उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ । किराँत समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छ ।
ढुङ्गेयुगमा किराती पुर्खाले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाको कथन छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।
वि.सं.२०८० पुस २१ शनिवार ०८:२२