कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
वि.सं.२०८० असोज २० शनिवार ११:४५
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
तत्कालीन मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत संविधानसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले भदौ २२ मा कोशीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएपछि कार्की मुख्यमन्त्री बनेका थिए ।
यसरी गठन भएको सरकारले संविधानको १६८ (४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकाले आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । यसअघि पहिलोपटक २०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका कार्की असार १५ मा विश्वासको मत पाउन नसकेर पदमुक्त बनेका थिए । कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिएपछि उनले विश्वासको मत पाउन सकेका थिएनन्, जसका कारण उनी बाहिरिनु परेको थियो ।
त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्धव थापाले दुईदुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ सांसद छन् ।
अहिलेसम्मको अवस्थामा कुनै फेरबदल नभए एमालेको पक्षमा ४० सांसद मात्रै देखिएका छन् । यसअघि एमालेलाई साथ दिँदै आएको राप्रपाले यस पटक भने साथ नदिने जनाइसकेको छ । जसका कारण मुख्यमन्त्री कार्कीलाई सरकार जोगाउन मुस्किल पर्ने देखिएको छ ।
वि.सं.२०८० असोज २० शनिवार ११:४५